हिन्दूहरुको महान् चाड बडा दसैं सुरु

0

काठमाडौं, २६ असोज । यस वर्षको बडा दसैं आज मंगलबारबाट सुरु भएको छ । नवरात्रको पहिलो दिन आज घरघरमा देवी दुर्गाको प्रतीमा स्थापना गरी घटस्थापना गरिँदै छ । आश्विन शुक्ल पक्ष प्रतिपदाका दिनलाई घटस्थापना भनिन्छ । यसै दिनदेखि नवरात्रि आरम्भ हुन्छ । यस दिन घर घरमा जमरा राखिन्छ र घट कलशको स्थापना गरी देवी–देवताको आह्वान गरिन्छ ।
घटस्थापना र नवरात्री आरम्भको शुभसाइत आज बिहान ११ बजेर २५ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएके छ । आजका दिन झिसमिसे बिहानीमै आत्मशुद्धी गरी नदी, खोला, बगर या आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा या माटो ल्याई दसैं घर या पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न जौ, मकैलगायतका अनाज छरिन्छ ।
माता भगवतीलाई मन पर्ने वनस्पति जमरा भएकाले भगवतीलाई खुसी पार्नको लागि जमरा उमार्ने गरिएको हो । यसैगरी माटोको विशुद्ध जलपूर्ण घडाको वरिपरि नौवटा देवीको स्वरुपको प्रतिमूर्ति मानी गाईको गोबरले नौवटा देवीको वेदी बनाई लेपन गरिन्छ र घडाको वरिपरि जौ पनि गाडिन्छ ।
अनि अनन्त शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजाआजा गरिन्छ । यसै दिनदेखि नवमीसम्म घरघरमा र देवीका मन्दिरमा पहिलो दिनकै बमोजिम भगवती दुर्गाको पूजा, आराधना र प्रार्थना गरिन्छ । दुर्गा सप्तशती चण्डी पाठ गरिन्छ ।
उपत्यका लगायत देशैभरको देवी मन्दिरहरुमा आज विहानैदेखि दर्शन गर्न जानेहरुको घुईंचो लागेको छ । यो बर्ष कात्तिक ५ गते दसैंको मुख्य दिन टीका परेको छ । यो बर्ष नवमी र दशमी एकै दिन परेको छ । यस वर्षको टिकाको शुभसाइत १० बजेर ५७ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.