नाकाबन्दीविरुद्ध मध्य बानेश्वरका स्थानीयवासीको सामूहिक भोजन

0

काठमाडौँ, २३ असोज । भारतले गरेको अघोषित नाकाबन्दीको विरोधस्वरुप आज मध्य बानेश्वरका स्थानीयवासीले दाउरामा पकाएर सामूहिक भोजन गरी साङ्केतिक विरोध गरेका छन् । “नेताहरु नझुक, हामी जनता साथमा छौँ, अन्याय सहन्नौँ, राष्ट्रियता हाम्रो प्राण हो” भन्ने नाराका साथ काठमाडौँ महानगरपालिका वडा नं १० का स्थानीयवासीले सामूहिक भोजन गरेका हुन् ।
राजनीतिक दलका नेताहरुलाई ‘ग्यास र पेट्रोल’का निहुँमा राष्ट्रिय स्वाभिमान नगुमाउ भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यले साङ्केतिक विरोधस्वरुप कार्यक्रम आयोजना गरिएको स्थानीय समाजसेवी नवराज गौतमले बताउनुभयो । स्थानीय टोलवासीको सहयोगमा आज पहिलो दिन ३०० भन्दा बढीलाई खाना खुवाइएको छ ।
घरमा ग्यास नभएका स्थानीयवासी, मजदुर, विद्यार्थीलगायतलाई नियमित रुपमा खाना खुवाउने व्यवस्था मिलाइएको छ । हरेक दिन बिहान ९:३० देखि दिउँसो २ बजेसम्म खाना खाने व्यवस्था गरिएको स्थानीय गौतमले बताउनुभयो । स्थानीय खुल्ला मैदानमा पाल टाँगेर क्याटरिङको जस्तै गरी दाउराको आगोमा पकाएर खाना खुवाउने व्यवस्था मिलाइएको छ । खानामा दाल, भात, तरकारी र अचारको व्यवस्था छ ।
समाजसेवी बलिभद्र राजभण्डारी, विष्णु भुसाललगायतले बरु जस्तोसुकै कष्ट सहेर बस्ने तर भारतीय नाकाबन्दीको विरुद्ध राष्ट्रिय स्वाभीमान नगुमाउने प्रतिबद्धता जनाउनुभयो । यसैबीच, बिजुलीबजारस्थित तराई–मधेस लोकतान्त्रिक पार्टीको कार्यालय अगाडि नाकाबन्दीको विरोध र नजिकिएको चाडपर्वको उपलक्ष्यमा दाउरामा पकाएर चियापान गरी साङ्केतिक विरोध पनि गरिएको छ ।

Leave A Reply

Your email address will not be published.