प्रधानमन्त्री प्रचण्ड बिहीबार युगाण्डा प्रस्थान गर्नुहुँदै

0

काठमाडौँ \  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भोलि (माघ ४ गते) युगान्डा गणतन्त्र प्रस्थान गर्दै हुनुहुन्छ । उहाँ बिहान २ः१५ बजे कतार एयरलाइन्सबाट त्यसतर्फ प्रस्थान गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सम्मेलन यही माघ ५ देखि ६ गतेसम्म युगान्डा गणतन्त्रको राजधानी कम्पालामा हुदैछ । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उहाँकी सुपुत्री गङ्गा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्र सचिव सेवा लम्साल, नेपाल सरकारका वरिष्ठ अधिकारीहरू रहनुहुने मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री दाहालले ‘साझा विश्वव्यापी समृद्धिका लागि सहयोगलाई प्रगाढ बनाउने’ विषयको शिखर सम्मेलनको सत्रलाई माघ ५ गते सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । सोही दिन प्रधानमन्त्री दाहाल युगान्डा गणतन्त्रका राष्ट्रपति जनरल योवेरी कागुटा मुसेभेनीले प्रतिनिधिमण्डलका प्रमुखहरूको सम्मानमा आयोजना गर्नुहुने राजकीय भोजमा सहभागी हुनुहुनेछ ।

शिखर सम्मेलनकै क्रममा प्रधानमन्त्री दाहालले सहभागी राष्ट्र प्रमुख, सरकार प्रमुख र अन्य उच्च पदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ । यसअघि आज र भोलि बस्ने मन्त्रीस्तरीय बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री साउद माघ १ गते राति नै त्यसतर्फ प्रस्थान गरिसक्नुभएको छ । मन्त्रीस्तरिय बैठक अघि माघ १ र २ गते वरिष्ठ अधिकारीहरूको बैठक बसेको थियो ।

शिखर सम्मेलनले मन्त्रिस्तरिय बैठकको प्रतिवेदनमाथि विचार विमर्श गर्ने, सन् २०१९ मा भएको १८औँ शिखर सम्मेलनको नतिजा कार्यान्वयनमा हासिल भएको प्रगतिको समीक्षा गर्ने र कम्पाला घोषणापत्र पारित गरेर टुङ्गो लगाउने बताइएको छ ।

Leave A Reply

Your email address will not be published.