सन्दीप लामिछानेलाई ८ वर्ष जेल सजाय

0

काठमाडौं \  क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले बुधवार उनीविरुद्ध सजाय निर्धारण गरेका हुन् । यसैगरी बलात्कार कसुरमा लामिछानेलाई ३ लाख जरिवानाका साथै पीडितलाई २ लाख क्षतिपूर्ति भराउन पनि अदालतले फैसला गरेको छ ।

यसअघि गत पुस १३ गते  न्यायाधीश ढकालको इजालासले लामिछानेलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको थियो । जसअनुसार बुधबारका लागि सवाजय निर्धारणका लागि पेसी तोकिएअनुसार ८ वर्ष कैद सजाय र जरिवानाको फैसला भएको हो ।

लामिछानेले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको अदालतको ठहर छ ।  यसैबीच लामिछाने जिल्ला अदालतको फैसला चित्तबुझ्दो नभएको भन्दै थप कानुनी उपचारका लागि उच्च अदालत जाने भएका छन् । सन्दीपका वकिल सरोज कृष्ण घिमिरेले जिल्लाको फैसला चित्त नबुझेको भन्दै थप कानुनी उपचारका लागि उच्च अदालत जाने बताएका हुन् ।

जबरजस्ती करणीको कसुरमा दोषी ठहर भएपनि लामिछानेले थुनाबाहिरै रहेर पुनरावेदन गर्न पाउने भएका छन् । मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३७ अनुसार उनले यो सुविधा पाउने भएका हुन् ।

जबरजस्ती करणीको कसुरमा लामिछाने दोषी ठहर भएपनि जाहेरवाली किशोरीको उमेर वारदातको समयमा १८ वर्ष पुगिसकेको कारण लामिछानेलाई अधिकतम १० वर्ष कैद सजाय हुने र सो बापत हुनसक्ने अधिकतम जरिवाना र कैदवापतको रकम पनि धरौटीमा रहेको कारण उनी थुनाबाहिरै रहेर पुनरावेदन गर्न पाउने भएका हुन् ।

Leave A Reply

Your email address will not be published.