बागमतीमा सत्ता गठबन्धन र एमालेका उम्मेदवारद्धारा मनोनयन दर्ता

0

हेटौंडा \  राष्ट्रियसभा सदस्य पदका लागि बागमती प्रदेशबाट सत्ता गठबन्धनबाट चार जना उम्मेदवारले मनोनयन दर्ता गर्नुभएको छ । सोमबार हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सत्ता गठबन्धनबाट नेपाली कांग्रेसले २ र नेकपा माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादीबाट एक एक जनाले मनोनयन दर्ता गर्नुभएको हो ।

नेपाली कांग्रेसबाट महिला क्लस्टरमा विष्णु कुमारी पुडासैनी र अन्य क्लस्टरबाट जीतजंग बस्नेतले आफ्नो मनोनयन दर्ता गराउनुभएको हो । त्यस्तै, नेकपा माओवादी केन्द्रबाट अपाङ्ग क्लस्टरका श्रीकृष्ण अधिकारी र नेकपा एकीकृत समाजवादीबाट दलित क्लस्टरका घनश्याम रिजाल विश्वकर्माले आफ्नो मनोनयन दर्ता गराउनुभएको हो ।

त्यस्तै, नेकपा एमालेबाट महिला क्लस्टरमा रोजकुमारी चौलागाईं, अन्यमा त्रिलोचन निर्मल पौडेल, अपाङ्ग तर्फ विवेक देवकोटा तथा दलित तर्फ ध्रुवराज विकले उम्मेदवारी दर्ता गर्नुभएको छ । त्यसैगरी नेपाल मजदुर किसान पार्टीको तर्फबाट पनि चारजनाको उम्मेदवारी परेको छ । नेमकिपाको तर्फबाट अपाङ्ग तर्फ हिमालयश्वर मुल, अन्यमा श्रीकृष्ण महर्जन, दलितमा संगीता नेपाली तथा महिला क्लस्टरमा कृष्णलक्ष्मी दुवालले उम्मेदवारी मनोनयन दर्ता गर्नुभएको हो ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट पनि चार जनाको उम्मेदवारी परेको छ । राप्रपाको तर्फबाट उम्मेदवार हेमजंग गुरुङ, नानू नगरकोटी, भरतमणि भट्ट र पुर्ण वहादुर विश्कर्माको उम्मेदवारी दर्ता गर्नुभएको छ ।

बागमती प्रदेशमा ११० प्रदेश सांसदको ५ हजार ८३० मतभार, स्थानीय तहका २३८ जनप्रतिनिधिको ४ हजार ५२२ मतभार गरी कूल १० हजार ३५२ मतभार रहेको छ । बागमती प्रदेशमा कांग्रेसको ४ हजार १३, एमालेको २ हजार ५७१, माओवादीको २ हजार १९६, नेकपा एसको ५४२, राप्रपाको ७०८, नेमकिपाको १९७, हाम्रो नेपाली पार्टीको १०६ र स्वतन्त्रको १९ मतभार रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.