महामन्त्री गुरुङको शव ल्याउन कूटनीतिक पहल सुरु

0

काठमाडौं, १९ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल)ले पार्टीका महामन्त्री चन्द्रबहादुर गुरुङको पार्थिव शरीरलाई संयुक्त राज्य अमेरिकाबाट नेपाल ल्याएर राष्ट्रिय सम्मानका साथ अन्त्येष्टिको व्यवस्था मिलाउने भएको छ ।
पार्टीका उपाध्यक्ष राजीव पराजुलीको संयोजकत्वमा गठित शोकसभा व्यवस्थापन समितिको आज बसेको बैठकले गुरुङको शव नेपाल ल्याउन कानुनी प्रक्रिया पूरा गर्न केही दिन ढिला भएकाले सम्बन्धित मुलुकसँग कूटनीतिक रुपमा समन्वय गर्ने निर्णय गरेको छ ।
उहाँको शव यही बिहीबार अमेरिकाबाट नेपाल ल्याउने तयारी भइरहेको र शुक्रबारसम्म यहाँ आइपुग्ने पार्टीले जनाएको छ ।
बैठकले उहाँको शवलाई पार्टी केन्द्रीय कार्यालय धुमबाराहीमा राखेर पार्टी कार्यकर्ता तथा अन्य राजनीतिक दलका नेतालाई श्रद्धाञ्जलिको व्यवस्था मिलाउने र त्यहाँबाट शवयात्रा गर्दै पशुपति आर्यघाटमा अन्त्येष्टिको व्यवस्था मिलाउने निर्णय गरेको नेता देवेन्द्र प्रधानले जानकारी दिनुभयो ।
अमेरिकाको कोलोराडोस्थित अस्पतालमा क्यान्सरको उपचारका क्रममा गुरुङको गएको शनिबार राति मृत्यु भएको थियो ।
स्याङ्जाको पञ्चमूल सिरुबारीमा २०१२ सालमा जन्मिनुभएका गुरुङ पहिलो संविधानसभामा पार्टीका संसदीय दलका नेतासमेत हुनुहुन्थ्यो । यसअघि पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले उहाँको योगदानको स्मरण गर्न सात दिनसम्म शोक मनाउने, तीन दिनसम्म पार्टीको झन्डा झुकाउने र १३ दिनसम्म पार्टीले कुनै पनि औपचारिक कार्यक्रम नगर्ने निर्णयसमेत गरेको थियो ।

Leave A Reply

Your email address will not be published.