एनआरएनएद्वारा निर्मित अक्सिजन प्लान्ट हस्तान्तरण

0

भरतपुर –  गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद् (एनआरएनए) को सहयोगमा चितवनको भरतपुर अस्पतालमा निर्मित अक्सिजन प्लान्ट एक कार्यक्रमका बीच भरतपुर अस्पताललाई हस्तान्तरण गरिएको छ । करिव ७० लाखको लागतमा एनआरएनएले भरतपुर महानगरपालिका र भरतपुर अस्पतालसंगको  सहकार्यमा निर्माण गरेको अक्सिजन प्लान्ट एनआरएनएका महासचिव डा. केशव पौडेलले उद्घाटन गरे।

शुक्रवार आयोजित कार्यक्रममा एनआरएनए महासचिव डा. पौडेलले प्लान्टको साँचो अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राजु पौडेललाई हस्तान्तरण गरेका हुन्  । सो अवसरमा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. कृष्ण पौडेल, अस्पताल व्यवस्थापन समितिका पूर्व अध्यक्ष भोजराज पोखरेल, एनआरएनए अमेरिकाका पूर्व उपाध्यक्ष डिलु पराजुली, अस्पतालमा कार्यरत चिकित्सकहरु, नर्सहरु र कर्मचारी तथा एनआरएनहरुको सहभागिता रहेको थियो । सो अवसरमा बोल्दै महासचिव डा. पौडेलले एनआरएनएले नेपालको विभिन्न क्षेत्रमा सामाजिक सेवा भावले सहयोग र सहकार्य गर्दै आएको बताए ।

उनले पछिल्लो समय कोरोनाको विपतको अवस्थामा एनआरएनएले नेपालको स्वास्थ्य क्षेत्रमा सहयोग र सहकार्यलाई बढाएको बताए । पेशाले चिकित्सक पौडेलले अक्सिजन प्लान्टको निर्माणपछि नेपालीको ज्यान जोगाउने कार्यमा केही भएपनि योगदान गर्न सकेकोमा खुशी व्यक्त गर्दै यस्ता सामाजिक र मानवीय सेवामा एनआरएनएले सदैव योगदान गर्ने बताए । साथै महासचिव पौडेलले नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, भरतपुर महानगरपालिका र भरतपुर अस्पताललाई समेत धन्यवाद ज्ञापन गरे ।

Leave A Reply

Your email address will not be published.