एनआरएनएद्धारा निर्मित अत्याधुनिक शौचालय हस्तान्तरण,

0
गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद्को सहयोगमा पोखरा महानगरपालिका ९ महेन्द्र पुलमा नव निर्मित अत्याधुनिक शौचालयको उद्घाटन गरिएको छ । पोखरा महानगरपालिकाको सहकार्यमा बनेको शौचालयको उद्घाटन शुक्रवार एनआरएनएकी अध्यक्ष रविना थापा र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गर्नु भएको हो ।
थापा एनआरएनएकी कार्यकारी अध्यक्ष रहनुभएको समयमा शौचालय निर्माणका लागि एनआरएनए र पोखरा महानगरपालिकाबीचमा सम्झौता भई गत चैत्र २७ मा शिलान्यास भएको थियो । पहिलो किस्तामा ६० लाख र दोस्रो किस्तामा २० लाख गरी संघको कुल ८० लाखको लागतमा शौचालय निर्माण गरेको हो ।
महिला र पुरुषका लागि छुट्टा छुट्टै शौच गर्न मिल्ने प्रबन्ध सहीतको शौचालय अपागंता भएका व्यक्तिले समेत सहज प्रयोग गर्न सक्ने खालको रहेको छ । साथै शाचालयमा सेनेटरी प्याड भण्डारको व्यवस्था तथा स्तनपान कक्ष र विद्युतीय सामाग्रीहरुका राख्नका लागि भण्डार कक्ष समेत रहेको छ । आगामी दिनमा शौचालयको वरीपरीको भुभागमा एनआरएनए पार्क समेत निर्माण गर्ने तयारी रहेको छ ।
कुल ९५ लाखको लागतमा पार्क सहीतको शौचालय बनाउने गरी परियोजना अघि बढेको हो । जसमा शौचालय निर्माण भैसकेको छ भने पार्क निर्माणको तयारीमा रहेको छ ।
नवनिर्मित शौचालयको उद्घाटन पश्चात एनआरएनएकी अध्यक्ष थापाले शौचालयको संरक्षण र कुशल सञ्चालनको दायित्व महानगरपालिकाको रहेको र त्यो कार्य महानगरपालिकाबाट हुनेमा विश्वास व्यक्त गर्नुभयो । एनआरएनएले गैरआवासीय नेपालीका साथैं नेपालमा रहेका नेपालीका लागि पनि काम गर्दै आएको र सामाजिक सेवाको क्षेत्रमा सहकार्य गर्न एनआरएनए सदैव तयार रहेको बताउनुभयो ।
सो अवसरमा एनआरएनएकी महिला सचिव टिका गुरुगं, सह कोषाध्यक्ष कृष्ण तिमिल्सेना, एनआरएनए स्वीजरल्याण्डका अध्यक्ष कृष्ण शिवाकोटी लगायत एनआरएनहरु र पोखरा महानगरपालिकाका अधिकृतहरुको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.