सभामुख घिमिरे र अष्ट्रेलियाका सभामुख डिकबिच भेट

0

काठमाडौँ \ सभामुख देवराज घिमिरेसँग अष्ट्रेलियाका सभामुख मिल्टन डिकले आज सिंहदरबारमा शिष्टाचार भेट गर्नुभएको छ । सभामुख कार्यकक्षमा भएको भेटघाटमा संसदीय अनुभव आदानप्रदान, द्विपक्षीय सम्बन्ध विस्तारलगायतका विषयमा छलफल भएको हो ।

नेपाल र अष्ट्रेलिया लोकतान्त्रिक मुलुक भएको उल्लेख गर्दै सभामुख घिमिरेले लोकतान्त्रिक पद्धति, मूल्य–मान्यता र संस्थालाई थप सुदृढ बनाउन अनुभव आदानप्रदान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले उच्चस्तरीय भ्रमणले दुईदेशबिच विद्यमान मित्रवत् सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

अष्ट्रेलियामा संसदीय मैत्री समूह पुनः स्थापना भएकोमा खुसी व्यक्त गर्दै सभामुख घिमिरेले नेपालमा भर्खरै गठन भएको नेपाल–अष्ट्रेलिया मैत्री समूहले दुई देशका संसद्बिचको सम्बन्धलाई थप गतिशील बनाउन विश्वास व्यक्त गर्नुभयो । उहाँले युवा राजनीतिज्ञहरूको भ्रमण आदानप्रदानले दुई देशबिचको राजनीतिक तथा जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउने उल्लेख गर्नुभयो ।

सभामुख घिमिरेले दुई देशबिच व्यापार तथा लगानी फ्रेमवर्क सम्झौतामा यथाशीघ्र हस्ताक्षर हुन सके दुई देशबिचको व्यापार तथा लगानीले थप गति लिने विश्वास व्यक्त गर्नुभयो । उच्च शिक्षा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूका लागि अष्ट्रेलिया महत्त्वपूर्ण गन्तव्य रहेको बताउँदै सभामुख घिमिरेले नेपाली विद्यार्थीहरूका लागि थप छात्रवृत्ति तथा अध्ययनपछि स्वदेशमै फर्कन प्रेरित गर्न आग्रह गर्नुभयो ।

अष्ट्रेलियाका सभामुख डिकले दुई मुलुकबिच जनस्तरमा सम्बन्ध विकास गर्नुपर्नेमा जोड दिँदै आफ्नो मुलुक नेपालसँग विकास साझेदारी र जलवायु परिवर्तनविरुद्धको अभियानमा साथमै रहने बताउनुभयो । उहाँले नेपालमा पनि अष्ट्रेलिया हेर्ने गरी संसदीय मैत्री समूह गठन भएकोमा स्वागत गर्दै कानुन निर्माण, बजेटलगायतका नीतिगत विषयमा छलफल हुने विश्वास व्यक्त गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.