ज्येष्ठ नागरिक ज्ञान, सिप र अनुभवका लागि प्रेरणाका स्रोत हुन् : राष्ट्रपति पौडेल

0

काठमाडौँ \  राष्ट्रपति रामचन्द्र पौडेलले  ज्येष्ठ नागरिक ज्ञान, सिप र अनुभवका लागि प्रेरणाका स्रोत भएको बताएका छन् । ३३ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण ज्येष्ठ नागरिकहरूको सुस्वास्थ्य, दीर्घायु एवं सम्मानित जीवनको लागि  शुभकामना पनि व्यक्त गरेका छन् ।

आजको यस दिवसको अवसरमा नेपाल सरकार,महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, प्रदेश सरकारहरू, स्थानीयतहहरू र ज्येष्ठ नागरिकको क्षेत्रमा क्रियाशील राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घ तथा विभिन्न सङ्घ संस्थाले ज्येष्ठ नागरिकको हक, हित, संरक्षण र सम्वर्द्धनको लागि विभिन्न कार्यक्रमहरू आयोजना गरी यो दिवस धूमधामका साथ मनाउन लागेको जानकारी पाउँदा मलाई अत्यन्त खुसी लागेको छ, उनले शुभकामना सन्देशमा भनेका छन् ।

उनले भने–ज्येष्ठ नागरिक ज्ञान, सिप र अनुभवका लागि प्रेरणाका स्रोत हुनुहुन्छ । उहाँहरूको जीवनबाट वर्तमान युवा पुस्ताले जीवनोपयोगी सिकाई ग्रहण गर्न सक्दछन् । उहाँहरूको ज्ञान, सिप र अनुभवलाई अन्तर पुस्तान्तरण गरी अत्यधिक उपयोग गर्न सके देशको आर्थिक समृद्धि प्राप्त गर्न तथा सामाजिक सहृदयता कायम गर्न ठुलो सहयोग मिल्नेछ ।

संयुक्त राष्ट्र सङ्घले सन् १९९० को डिसेम्बर १४ मा अक्टोबर १ तारिखलाई ‘अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’ को रूपमा मनाउने प्रस्ताव पारित गरेपश्चात् विश्वभरि नै आजको दिनलाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको रूपमा मनाउने गरिएको छ।

Leave A Reply

Your email address will not be published.