अल्पविकसित देशका लागि सहुलियतपूर्ण वित्तीय सहायता प्रस्ताव

0

काठमाडौं \  अर्थमन्त्री डा. प्रकाशशरण महत एसियाली पूर्वाधार लगानी बैङ्क (एआइआइबी) को बोर्ड अफ गभर्नर्सको आठौँ बैठकमा सहभागी भएर आज स्वदेश फर्किनुभएको छ । इजिप्टको शर्मा अल शेखमा आयोजित बैङ्कको बोर्ड अफ गभर्नर्सको बैठकमा बैङ्कका ८६ सदस्य राष्ट्रको सहभागिता रहेको थियो ।

उच्चस्तरीय बैठकका अवसरमा अर्थमन्त्री डा. महतले नेपाल जस्ता अल्पविकसित मुलुकका लागि सहुलियतपूर्ण वित्तीय सहायताले ठुलो अर्थ राख्ने भएकाले यसका लागि छुट्टै सहुलियतपूर्ण संयन्त्रको व्यवस्थाका लागि नेपालले राखेको प्रस्तावमा सहमति जनाउन सबै सदस्य राष्ट्रलाई आह्वान गर्नुभयो ।

बैठकमा अर्थमन्त्री डा. महतले विश्व अर्थतन्त्रको स्थिरता, शून्य कार्बन उत्सर्जनतर्फको यात्रामा तीव्रता र निम्न तथा मध्यम आय भएका मुलुकको आर्थिक विकास, गरिबी निवारण एवम् नागरिकको गुणस्तरयुक्त जीवनका लागि वित्तीय स्रोतमा पहुँच प्रमुख तीन चुनौती रहेको बताउनुभयो । उक्त चुनौती सम्बोधनका लागि एसियाली पूर्वाधार लगानी बैङ्क लगायतका बहुपक्षीय विकास बैङ्कहरूको भूमिका महत्त्वपूर्ण रहने अपेक्षा गर्नुभयो ।

न्यून आय भएका मुलुकका लागि आर्थिक पुनः उत्थान र विकास, रोजगारी सिर्जना, हरित पूर्वाधार विकास, वित्तीय साधन स्रोतमा पहुँच विस्तार, प्राविधिक एवम् संस्थागत क्षमताको विकास, जलवायु सिर्जित विपद् व्यवस्थापन र अन्य सामाजिक सुरक्षाको क्षेत्रमा समेत सहयोग जस्ता माध्यमबाट एआइआइबी लगायतका बहुपक्षीय विकास बैङ्कहरूले महत्त्वपूर्ण योगदान पुर्‍याउन सक्ने तथ्य प्रस्तुत गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.