धार्मिक सद्भाव भड्काउने गतिविधिले कसैको हित गर्दैन : सभापति देउवा

0

काठमाडौं \  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धार्मिक-सामाजिक सद्भाव भड्काउने गतिविधि कसैको हितमा हुन नसक्ने बताउनुभएको छ। केही दिनयता सुनसरीको धरानमा भएको द्वन्द्वले हाम्रो धार्मिक, सांस्कृतिक तथा सामाजिक एकता र सद्भावमा खलल पुर्याउने भन्दै सभापति देउवाले यस्तो बताउनुभएको हो।

शनिबार सार्वजनिक विज्ञप्तिमा देउवाले लेख्नुभएको छ,  ‘‘नेपालीको भावना र चाहना विपरित धार्मिक-सामाजिक सद्भाव भड्काउने गतिविधि हामी कसैको पनि हितमा छैन, हुन सक्दैन। यसबाट उत्पन्न हुने धार्मिक, सामाजिक तथा राजनीतिक अस्थिरता र अराजकताको धमिलो पानीमा खेल्न खोजेका दृश्य अदृश्य शक्तिहरूलाई सहयोग पुग्ने कुरामा दुई मत छैन। यसले निम्त्याउन सक्ने परिस्थिति बेलैमा अनुमान गरि हरेक व्यक्ति, समुदाय र सम्प्रदाय सचेत र संयम हुनु आजको आवश्यकता हो।’’

सभापति देउवाले यो विषयको संवेदनशीलतालाई मध्यनजर गर्दै सबै व्यक्ति एक ठाउँमा उभिनुपर्नेमा जोड दिनुभएको छ। ‘‘यस विषयको संवेदनशीलतालाई मध्येनजर गर्दै राजनीतिक दल, स्थानीय जनप्रतिनिधि र धार्मिक संघ–संस्था एवं समाजका अग्रज व्यक्तित्वहरू एक ठाउँमा उभिएर सबै जाति, धर्म एवं सम्प्रदायबीचको आपसी एकता र सद्भाव कायम राख्ने महान कार्यमा जुट्न नेपाली कांग्रेस हार्दिक अपिल गर्दछ’’, सभापति देउवाले भन्नुभएको छ।

Leave A Reply

Your email address will not be published.