सुशासनका लागि विशेष अभियान चलाउछौं : उपप्रधानमन्त्री खड्का

0

काठमाडौं \  उपप्रधान एवम् रक्षामन्त्री तथा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सरकार सुशासन र भ्रष्टाचार नियन्त्रण गर्ने काममा लागिरहेको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपप्रधानमन्त्री खड्काले यस्तो बताउनुभएको हो ।

उपप्रधानमन्त्री खड्काले मुलुकमा सुशासन, भ्रष्टाचार, अनियमितताको नियन्त्रण समग्र अभियानलाई वर्तमान सरकार केन्द्र भागमा राखेर अघि बढीरहेको उल्लेख गर्नुभयो । उहाँले भएका कमजोरीलाई सुधारेर देशभर सुशासनका लागि विशेष अभियान चलाउने तयारी सरकारको रहेको बताउनुभयो ।

‘‘अहिलेको सन्दर्भमा कुरा आइसकेको छ, मुलुकमा सुशासन, भ्रष्टाचार, अनियमितताको नियन्त्रण समग्र अभियानलाई वर्तमान सरकार, वर्तमान प्रधानमन्त्री नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नेपाली कांग्रेस, समाजवादी, जसपा, लोसपा, जनमत, लगायतका पार्टीहरु मिलेर अहिले हामी सरकार चलाइरहेका छौँ ।,’’ उपप्रधानमन्त्री खड्काले भन्नुभयो, ‘‘नेपाली कांगे्रस सरकारमा गएको अहिले लगभग साढे चार महिना बितेको छ । सुशासन, भ्रष्टाचार नियन्त्रणको सन्दर्भमा अभियानको रुपमा एउटा सङ्कल्पसहित हामी सरकारमा गएपछि पूर्ण सङ्कल्पसहित सरकार अघि बढेको छ । भएका कमजोरीलाई सुधारेर विशेष अभियान चलाउनका लागि मुख्यसचिव एउटा टोली बनाएर लाग्नुभएको छ ।’’

उपप्रधानमन्त्री खड्काले सुशासनको कार्ययोजना तयार पारेर जनताले पाउने सेवा समयमा पाउनका लागि सरकारले नयाँ कार्ययोजना बनाइरहेको जानकारी दिनुभयो । उहाँले सरकार र देशसँग जोडिएका सम्पूर्ण संयन्त्रहरुलाई सुशासनको कार्ययोजनाको घेराभित्र अनुशासति बनाउँदै आम नेपाली जनतामा नयाँ खालको प्रभाव, सरकारबाट दिनुपर्ने सेवामा नयाँ पनको गतिको अनुभव आम नागरिकले मशसुस गर्नेगरी सरकार अघि बढीरहेको बताउनुभयो । उहाँले सरकार दोषी छुट्नु हुँदैन र निर्दोष फस्नु हुँदैन भन्ने पक्षमा काम गरिरहेको जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.