सरकारले चलाएको अभियानबाट तस्कर, ठग र भ्रष्टाचारीहरू आत्तिएका छन् : गृहमन्त्री

0

ललितपुर \ उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सुशासनको पक्ष तथा भ्रष्टाचारविरुद्ध चालेको कदमबाट आमनागरिकमा आशा जागेको बताउनुभएको छ ।

माओवादी केन्द्र जिल्ला समन्वय समिति ललितपुरले आज शुक्रवार आयोजना गरेको कार्यक्रममा उहाँले सुशासन, आर्थिक समृद्धि र न्यायका निमित्त माओवादी केन्द्रले सरकार, सदन र सडक तीनै ठाउँबाट अभियान चलाएको बताउनुभयो ।

‘प्रचण्ड नेतृत्वको सरकारले चलाएको अभियानबाट तस्कर, ठग र भ्रष्टाचारीहरू आत्तिएका छन् । तर आमनागरिक यो अभियानबाट खुशी भएका छन् । लोकतन्त्र र राजनीतिक परिवर्तनपछि वर्तमान सरकारले चलाएको भ्रष्टाचार विरोधी अभियानबाट आमनागरिकमा आशा पलाएको छ’, माओवादी वरिष्ठ उपाध्यक्षसमेत रहनुभएका श्रेष्ठले भन्नुभयो ।

सरकारले भ्रष्टाचार विरोधी अभियान दृढतापूर्वक अगाडि बढाएको उहाँले दाबी गर्नुभयो । ‘भ्रष्टाचार विरोधी अभियान दृढतापूर्वक अगाडि बढाउँछौँ । सरकार र गृह मन्त्रालयको नेतृत्वको निरन्तरता भनेकै तस्कर, भ्रष्टाचारी र ठगविरुद्धको अभियान हो’, उहाँले भन्नुभयो, ‘यो अभियानमा आमनागरिकको साथ र सहयोगको अपेक्षा छ ।’

नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण र सामान्तवादको अवशेषका रूपमा रहेको मिटरब्याजसम्बन्धी समस्या समाधान गर्ने सरकारको कदम सुशासन र भ्रष्टाचार विरोधी कदमकै निरन्तरता रहेको मन्त्री श्रेष्ठको भनाइ छ । उहाँले सरकारले नागरिकको पक्षमा निरन्तर काम गरिरहने पनि बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.