प्रतिनिधिसभा बैठक आज बस्दै

0

काठमाडौं \  संघीय संसद् भवन, नयाँ बानेश्वरमा प्रतिनिधिसभा बैठक बुधबार बस्दै छ । बैठक बुधबार दिउँसो ३ बजे बोलाइएको संसद सचिवालयले जनाएको छ । बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रबारे सदनलाई जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ ।

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सांसद (सचिव) टोपबहादुर रायमाझीलाई निलम्बन गरिएको जानकारी सभामुखले गराउने छन् ।

गत साउन १० गतेदेखि नियमिति कार्यसूचिमा प्रवेश नै नगरेको बैठक बुधबार पनि एमालेको निर्णयमा भर पर्ने छ । एमालेले सुन तस्करीको छानविनका लागि उच्चस्तरीय समिति बनाउन माग गर्दै आएको छ । सरकार भने सीआइबीको छानविन प्रभावित हुने भन्दै उच्च स्तरीय समिति बनाउन इच्छुक देखिएको छैन ।

यद्यपी गत सोमबार प्रमुख दलहरुबीच उच्च स्तरीय छानविन समिति बनाउने अनौपचारिक सहमति भएपछि त्यसको कार्यविधि बनाउन एउटा कार्यदल बनाइएको छ । उक्त कार्यदलले कार्यविधिको मस्यौदा तयार भईसकेको जनाएको छ ।

उक्त कार्यविधिमा छलफल गर्नका लागि बुधबार बिहान ११ बजे शीर्ष नेताहरुको बैठक बस्ने भएको छ । उक्त बैठकमा सहमति भए मात्रै दिउँसो डाकिएको प्रतिनिधिसभा बैठक बस्न सक्नेछ ।

Leave A Reply

Your email address will not be published.