कर्णालीको विकासलाई प्राथमिकतामा राखेको छु : प्रधानमन्त्री

0

वीरेन्द्रनगर \  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णालीको विकासलाई प्राथमिकतामा राखेको बताउनुभएको छ । सोमबार कर्णाली प्रदेश सरकार वीरेन्द्रनगर, सुर्खेतद्वारा आयोजित कर्णाली प्रदेश स्थापना तथा सहिद दिवस–२०८० कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले बेरोजगारीको अन्त्य गरी गरिबी निवारण तथा आर्थिक रूपान्तरणका लागि कर्णाली प्रदेश सरकारको समृद्धि अभियानलाई सङ्घीय सरकारको पूर्ण साथ र सहयोग रहने बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘कर्णालीको विकासलाई मैले सधैं प्राथमिकतामा राख्दै आएको छु, आगामी दिनमा समेत नीति, कार्यक्रम र बजेटमा यस प्रदेशलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’’

उहाँले अथाह प्राकृतिक साधनस्रोत हुँदाहुँदै पनि भौतिक पूर्वाधारको अभाव, पूर्वाधार विकासमा भौगोलिक चुनौती एवम् आर्थिक स्रोत परिचालनको अभाव, कर्मचारी परिचालन र व्यवस्थापनमा चुनौतीजस्ता विषयहरू गम्भीर प्रकृतिका रहेको बताउनुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, ‘‘दुर्गममा कर्मचारी बस्न नचाहने र सङ्घीय सरकारले पनि पर्याप्त ध्यान नदिँदा प्रदेश सरकारका काम कारबाहीहरू प्रभावित भएको भन्ने यहाँहरूको गुनासोलाई मैले गम्भीरतापूर्वक लिएको छु । आगामी दिनमा यो समस्याको उचित सम्बोधनका लागि आवश्यक पहल लिने विश्वास पनि दिलाउँछु ।’’

प्रधानमन्त्री प्रचण्डले प्रदेशको मेरूदण्डका रूपमा रहेका टेरिटोरियल तथा कोरिडोर विकास अवधारणा, कर्णाली करिडोर, कर्णाली राजमार्ग, भेरी करिडोर, राप्ती लोकमार्ग, थारमारे चौरजहारी जुम्ला शहीद कामी बुढा मार्ग, कैलाश मानसरोबर दर्शन क्षेत्र हुँदै मुक्तिनाथ जोड्ने सडक योजना जस्ता रणनीतिक महत्त्वका योजना पूरा गर्न सङ्घीय सरकारको तर्फबाट सम्पूर्ण रूपले पहल हुने जानकारी दिनुभयो ।

‘‘कर्णाली प्रदेशले निर्धारण गरेको विकास, पूर्वाधार र परिवर्तनको लक्ष्य, कर्णालीको मूल्यवान उत्पादन, कृषकहरूलाई प्रोत्साहन, कर्णालीले जे बेच्छ, मूल्यवान उपज बेच्छ जस्ता नारा र कर्णाली समृद्धि अभियान जस्ता कार्यक्रमबाट म उत्साहित छु ।,’’ प्रधानमन्त्रीले भन्नुभयो, ‘‘ साँच्चै कर्णाली मुलुककै समृद्धिको मुहान बन्न सक्दछ । कर्णालीको जल, जमिन, पर्यटन, जडीबुटी, भेषभूषा, भाषा संस्कृतिमा रहेको अपार सम्भावनालाई मैले बुझेको छु । कर्णाली एउटा सभ्यता हो । यो मानव सभ्यता र संस्कृतिसँग जोडिएको छ ।’’

Leave A Reply

Your email address will not be published.