सडक सुरक्षा सुनिश्चित गर्न समन्वय र सहयोग आवश्यक : प्रहरी महानिरीक्षक कुँवर

0

काठमाडौं \  प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले सडक प्रयोगकर्ताहरूको सुरक्षित भविष्यका लागि सडक सुरक्षा र ट्राफिक व्यवस्थापनमा सबै सरोकारवाला निकायहरूबिच बलियो साझेदारी, समन्वय र सहयोग आवश्यक रहेको बताउनुभएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित ट्राफिक सचेतना भिडियो स्क्रिनिङ र सडक सुरक्षा प्रहरीमा सरोकारवाला विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताउनुभएको हो ।

प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीले विश्व स्वास्थ्य सङ्गठन र युएनडिपीका प्रतिनिधिहरूसँग सडक सुरक्षाका लागि एक अर्काको विशेषज्ञता र स्रोतहरू आदान प्रदान गरिने चर्चा गर्दै प्रत्येक नागरिकले सुरक्षित रूपमा यात्रा गर्न सक्ने गरी सबै सरोकारवाला निकायहरूको प्रयास एकताबद्ध गरी सडक सुरक्षालाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्ने बताउनुभयो । सडक सुरक्षा सुनिश्चित गर्न धेरै चुनौती रहेको उल्लेख गर्दै ट्राफिक सचेतना र सडक सुरक्षासँग सम्बन्धित भिडियो मार्फत नागरिकलाई सडक सुरक्षाका विभिन्न पक्षहरूबारे शिक्षा दिन महत्त्वपूर्ण  योगदान पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव रघुराम विष्टले सडक प्रयोगकर्ताहरूले ट्राफिक नियमको पालना गरेमा सडक दुर्घटनाबाट हुने क्षतिमा कमी आउने चर्चा गर्दै सडक सुरक्षासँग सम्बन्धित विविध विषयहरूमा मन्त्रालयबाट आवश्यक साथ, सहयोग र समन्वय सदैव रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । सो अवसरमा विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि डा.गोम्पे दोर्जेले सडक सुरक्षाका लागि नेपाल प्रहरी लगायत सबै सरोकारवाला निकायहरूसँग समन्वय गर्दै अगाडि बढ्ने बताउनुभयो ।

प्रहरी वरिष्ठ उपरीक्षक तारा देवी थापाले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै अन्तरक्रिया सम्बन्धी संक्षिप्त जानकारी दिनु भएको उक्त कार्यक्रममा सडक सुरक्षा र ट्राफिक व्यवस्थापनमा नेपाल प्रहरीको पहल तथा विश्व स्वास्थ्य सङ्गठनद्वारा निर्मित ट्राफिक सम्बन्धी जनचेतनामूलक दुई भिडियो प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि लगायत अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.