‘भ्रष्टाचारका थप फाइल खुल्छन्’: प्रचण्ड

0

काठमाडौ \  प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारका फाइल एकपछि अर्को गर्दै खुल्दै जाने बताउनुभएको छ। बुधबारदेखि सुरु भएको पार्टी केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले आफू र उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठबिच उच्चस्तरको समझदारी भएकाले भ्रष्टाचारविरोधी अभियान नरोकिने प्रस्ट पार्नुभयो।

सरकारले केही दिनभित्र ठुला खालका भ्रष्टाचारका फाइल खोल्ने तयारी गरेकाले त्यसले झन् ठुलो तरङ्ग ल्याउने प्रचण्डले उल्लेख गर्नुभएको पार्टी केन्द्रीय सदस्य विशाल खड्काले बताउनुभयो। “वरिष्ठ उपाध्यक्ष र मेराबिच हाई लेभलको समझदारी छ। हामीलाई हटाउन सक्छन्। हामीले सरकार छाड्नुपर्ने हुन सक्छ। सरकार छाड्दा पनि भ्रष्टाचारविरुद्धको आन्दोलन रोकिँदैन,” प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै खड्काले भन्नुभयो, “बरु अझ ठुला खालका भ्रष्टाचारका फाइल खुल्दै जाने छन्। त्यसको तरङ्ग झन् ठुलो हुनेवाला छ। हामीलाई हटाउन खोज्ने आफैँ कमजोर हुने छन्। जसले सरकार फाल्ने कोसिस गर्छ तिनै भ्रष्टाचारी साबित हुने छन्।”

प्रधानमन्त्री प्रचण्डले सरकारलाई भ्रष्टाचारविरोधी अभियानबाट पन्छिने छुट नभएको उल्लेख गरेको खड्काले बताउनुभयो। “हामीलाई भ्रष्टाचारविरोधी अभियानबाट पन्छिने छुट छैन। हामी ब्याक भयौँ भने जनताले हामीलाई छाड्दैनन्, उल्टै हामी सिद्धिन्छौँ। हामीलाई हटाउन लागे भने उल्टै उनीहरू सिद्धिन्छन्,” प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै खड्काले भन्नुभयो, “कांग्रेसले पाँचै वर्ष गठबन्धन जोगाउने भनेर संस्थागत निर्णय गरिसक्यो। हामीले यसरी नै निर्णय गरेर जानु पर्छ।”

Leave A Reply

Your email address will not be published.