एनआरएनए केन्द्रीय अध्यक्षमा उम्मेद्वारी घोषणा गर्दै महेश श्रेष्ठ

0

 

काठमाडौँ  \  गैरआवासीय नेपाली संघ भित्र सदैब समन्वयकारी भूमिका निर्वाह गर्दै आएका उपाध्यक्ष महेश कुमार श्रेष्ठले ५ रणनीति र २५ योजनाकासाथ अध्यक्षमा उम्मेद्वारी घोषणा भएका छन । श्रेष्ठले ‘२०२३–०२५’ कार्यकालका लागि अगस्टको अन्तिम हप्ता अध्यक्षमा उम्मेद्वारी घोषणा गर्ने तयारी गरेकाछन ।

एनआरएनएको ११ औं महाधिवेशन आगामी अक्टोबर महिनामा काठमाडौं हुँदैछ। संगठनको केन्द्रिय उपाध्यक्ष र कोषाध्यक्षको जिम्मेवारी कुशलतापूर्वक पूरा गरेका श्रेष्ठलाई एनआरएनहरुले समन्वयात्मक भूमिका निर्वाह गर्न सक्ने नेतृत्वको रुपमा चिन्छन्।

श्रेष्ठले गैर आवासीय नेपालीको हकहित, बिदेशमा रहेका नेपाली श्रमिकहरुको अधिकार, नेपालको समृद्धि र विकासमा गैर आवासीय नेपाली संघ (एनआरएनए) लाई संस्थागत गर्ने, विश्वभर रहेका नेपालीका समस्याको समाधान र युवाहरुलाई एनआरनएमा जोड्ने रणनीतिक योजनाका साथ उम्मेद्वारी घोषणा गर्ने तयारी गरेका हुन्।

उनले आफ्नो रणनीतिलाई कार्यान्वयन गर्न २५ वटा कार्ययोजना समेत बनाएका छन्। आगामी कार्यकाल भित्रै पूरा गर्न सक्नेगरी उनले योजना समेटेका छन्।

एनआरएन समुदाय लगायत विभिन्न देशमा रहेका नेपालीहरु माझ श्रेष्ठ समन्वयात्मक भूमिका निर्वाह गर्ने अभियन्ताको रुपमा परिचित छन्। एनआरएनएमा नेतृत्वले सबैमा मिलाउन नसक्दा अभियानमै नकरात्मक असर देखिएको थियो। विश्वमा रहेका नेपालीलाई विभाजन भन्दा जोड्ने प्रयत्नकोलागि अध्यक्षमा उम्मेद्वारी प्रस्तुत गर्न लागेको उनले बताए।

विश्वका विभिन्न ठाउँमा छरिएका पुराना र नयाँ सबै एनआरएनहरुलाई जोडेर कार्यसमिति बनाउने अध्यक्षका प्रत्यासी श्रेष्ठ बताउँछन्। ‘एनआरएनएमा अहिले मेलमिलाप, एकता र सहमति गरेरै अघिबढ्ने परिस्थिति रहेको छ,’ श्रेष्ठले भने,‘गफ लगाउने कुरामा म विश्वास गर्दिन। मैले परिणाममुखी काम गरेर देखाउने छु ।’

कायचु युर्निभर्सिटी टोकियोबाट पीएचडी गरिरहेका श्रेष्ठले एनआरएनएको पदाधिकारी भएर सफल नेतृत्व गरिसकेका छन्। २०१९–०२१ मा कोषध्यक्ष हुँदा एनआरएनएलाई संस्थागत विकास गर्नकोलागि उनले महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए।

ग्लोबल युर्निभर्सिटी जापानबाट एमबीए गरेका उनी कोषध्यक्ष हुँदा एनआरएनएको फाइनान्सियल सिस्टम भद्रगोल रहेको थियो। २०० बढी बेरुजुका चाङ रहेका थिए। टेन्डर आब्हान गर्नुपर्ने काममा पनि सोझै खरिद गर्दा धेरै बेरुजु देखिएका थिए। एनआरएनए घाटामा रहेको थियो। श्रेष्ठले आफ्नो अध्ययन र व्यावसायिक अनुभवको आधारमा एउटा नियमावली बनाएरै फाइनान्सियल सिस्टम बसाले।

आफ्नो व्यवसायमा सफल श्रेष्ठले एनआरएनएमा पनि वार्षिक बजेट ल्याई काम थाले। हरेक ३ महिनामा आन्तरिक अडिट र वार्षिक रुपमा बाह्य अडिटगर्ने सिस्टम बसाल्नमा उनले महत्वपूर्ण भूमिका खेलेका छन्।

श्रेष्ठको नेपाल र जापानमा थुप्रै कम्पनीमा लगानी रहेको छ। जापानमा सिटी एक्सप्रेस मनी ट्रान्सफरको अध्यक्ष तथा सिइओ, टोनल कम्पनी लिमिटेडको अध्यक्ष र सिइओ, जेएन कृषि कम्पनी लिमिटेड साथै सिटी ट्राभल एन्ड टुर कम्पनीमा उनि निर्देशक रहेका छन्।

नेपालमा मनी ट्रान्सफर सहित ट्राभल, हाइड्रो, पर्यटन र आईटी क्षेत्रमा जोडिएका छन्। सिटी एक्सप्रेस मनी ट्रान्सफर, सिटी एक्सप्रेस म्यानेजमेन्ट, सिटी टेक, सिटी इन्भेष्टमेन्ट फन्ड प्रालि, हिमालयन पावर पार्टनर, एनआरएनए इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लि तथा द क्लिफ प्रा.लि मा उनी प्रवर्द्धक तथा सल्लाहकार रहेका छन्।

उनी एनआरएनएलाई प्रविधि मैत्रि बनाउन सुरु गरिएको एमआइएस सिस्टम तथा फेस भेरिफिकेसन सिस्टमका योजनाकार पनि हुन् । “एक पटकको नेपाली सधैंको नेपाली” भन्ने नारालाई आत्मसात गर्दै विश्वभर रहेका नेपालीले भोगी रहेका समस्या समाधानमा अग्रसर हुने उनले वाचा गरेका छन्।

विश्वभरका नेपालीलाई जोड्नुका साथै नेपालमा लगानी वृद्धि, सम्पत्ति सुरक्षा, सुरक्षित तथा मर्यादित वैदेशिक रोजगारी तथा गैरआवासीय नेपाली नागरिकताको प्रभावकारी कार्यान्वयनका लागि पनि आफुले नेतृत्व लिन चाहेको श्रेष्ठले बताए।

Leave A Reply

Your email address will not be published.