सत्य निरूपण तथा मेलमिलाप विधेयक चाँडै पारित गर्न प्रस्ताव

0

काठमाडौ \  सत्ता साझेदार नेपाली कांग्रेस र  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगसम्बन्धी विधेयक तत्कालै पारित गर्ने गरी छलफल थालेका छन् ।

कानुन निर्माण गरी सङ्क्रमणकालीन न्याय निरूपणको विषय तत्काल टुङ्ग्याउन सहमत कांग्रेस र माओवादी केन्द्रले संसदीय समितिमा रहेको विधेयक संसद्बाट पारित गरेर शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिने गरी छलफल थालेका हुन् । नेपाली कांग्रेसले आयोगको विधेयकका सन्दर्भमा पदाधिकारी बैठकमा छलफल गरेको छ । सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं माओवादी केन्द्रका स्थायी समिति सदस्य रेखा शर्माले दुवै आयोगका विधेयकबारे बेला बेला गम्भीर ढङ्गले छलफल हुँदै आएको र यसलाई कानुनकै रूप दिएर शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “टिआरसी विधेयक समितिमै छ । यो विषय छिटोभन्दा छिटो टुङ्ग्याउनुपर्छ भन्ने नै हो । विधेयक पारित हुन केही ढिला हुँदा पदाधिकारी नियुक्ति पनि टुङ्ग्याएर जानुपर्ने हुन्छ । सङ्क्रमणकालीन न्यायका सन्दर्भमा सबै गम्भीर हुनु पर्छ । विधेयक यथाशीघ्र पारित गर्नु पर्छ ।”

विधेयक पारित गर्नु पर्छ : कांग्रेस 

कांग्रेस पदाधिकारी बैठकले सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगसम्बन्धी विधेयक चाँडै पारित गर्नुपर्ने निष्कर्ष निकालेको छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको पदाधिकारी बैठकले ऐन निर्माण गरी सङ्क्रमणकालीन न्याय निरूपण गर्नुपर्ने निष्कर्ष निकालेको हो । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले शान्ति प्रक्रियालाई अन्तिम निष्कर्षमा पु-याउन छलफल भएको बताउनुभयो । उहाँले आयोगका विधेयक चाँडै पारित गर्नुपर्ने बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.