बेलायतमा सात दिने चक्र विज्ञान साधना शिविर सम्पन्न

0

लन्डन –  योग, ध्यान र साधनाद्वारा जीवनमा सकारात्मक परिवर्तन ल्याउन काम गरिरहेको संस्था जीवन विज्ञानद्वारा आयोजित सात दिन लामो ‘चक्र विज्ञान साधना शिविर’ शनिबार  सम्पन्न भएको छ ।

दक्षिण पूर्वी लन्डनस्थित प्लमस्टीडमा आयोजित शिविरको संचालन जीवन विज्ञानका संस्थापकद्वय तथा जीवन विकास विशेषज्ञ गुरु एलपी भानु शर्मा तथा गुरु रमेश नेपालले गर्नु भएको थियो।

समापन समारोहमा सहभागीहरुलाई आशीर्वचन दिनु हुँदै गुरु रमेश नेपालले आफुलाई मन नपर्ने व्यवहार अरु कसैप्रति पनि नगर्न प्रशिक्षार्थीहरुलाई सुझाव दिनु भयो।  “यो एउटा सूत्रले मात्रै तपाईं को जीवनमा रुपान्तरण ल्याउन सक्छ। तपाईं सुखी, शान्त र स्वस्थ हुनु भयो भने तपाईंको घर, परिवार र समाजमै सकारात्मक असर पर्छ। ” उहाँले हाम्रो शरीरमा रहेका प्रमुख सात चक्रहरुको जागरणबाट स्वस्थ शरीर, सक्रिय मन, सकारात्मक भाव र आध्यात्मिक प्रगतिको मार्ग खुल्ने बताउनु भयो।

जीवन विज्ञानका संस्थापक गुरु एलपी भानु शर्माले नेपालले आगामी दश वर्षमा विश्व गुरु बन्ने दीर्घकालीन सोच राख्नु पर्ने बताउनु भयो।  “नेपाल विगतमा पनि विश्व गुरु थियो।  बुद्धको ज्ञान र शिवको ध्यानलाई लिएर अगाडि बढ्यौं भने अध्यात्मको माध्यमबाट नेपाल विश्व गुरु बन्न सक्छ,” उहाँले भन्नु भयो। उहाँले बेलायतमा क्रियाशील नेपाली संघ संस्थाहरुलाई ज्ञानको खोजी गर्न, राम्रो अभ्यासहरुको सिको गर्न र अध्यात्मको प्रवर्द्धन गर्न आग्रह गर्नु भयो।  ‘टाइम जोन’ को हिसाबले बेलायतलाई संसारकै केन्द्र मानिन्छ।  हामीले  पनि बेलायतलाई अध्यात्मको केन्द्र बनाउन सक्छौं र नेपालीले त्यसको नेतृत्व लिनु पर्छ।  सबै नेपाली मिलेर एउटा पुनर्जागरण शुरु गरौँ।  नेपालीहरुले नयाँ काम गर्न सक्छन भन्ने प्रमाणित  गरौँ,’ उहाँले भन्नु भयो।  उहाँले काठमाडौँ आएर लय विज्ञ, बोध विज्ञान, ऐश्वर्य विज्ञान प्रशिक्षण लिन पनि सबैलाई आग्रह गर्नु भयो।

समापन कार्यक्रमका युरोप र बेलायतबाट सहभागी प्रशिक्षार्थीहरुले आफ्ना अनुभव सुनाएका थिए। बेल्जियमको लुभेन शहरबाट सात दिने शिविरमा भाग लिन आउनुभएका एकजना व्यवसायी नारायण अधिकारीले कोभिड पछि संसारभरि मानसिक र शारीरिक स्वास्थ्य समस्या बढ्दै गएको बेला यो प्रशिक्षण निकै फाइदाजनक भएको बताउनु भयो।  “मैले सिकेको पाठ मेरो परिवार र समाजका लागि मात्रै हैन, पुरै विश्वका लागि अनुकरणीय हुने ठानेको छु,” उहाँले भन्नुभयो।

युरोप र बेलायतबाट झन्डै एक सय जना प्रशिक्षार्थीहरुले सात दिने शिविरमा भाग लिएको जीवन विज्ञान यूकेकी ट्रष्टी तथा प्रशिक्षक सरिता शर्माले बताउनु भयो।  जीवन विज्ञान यूकेका ट्रष्टी प्रेम खड्काले संस्थाका गतिविधिहरुबारे जानकारी गराउनु भएको थियो भने जीवन विज्ञान यूकेका ट्रष्टीले सबैलाई धन्यवाद दिनु भयो।

आफ्नो बेलायत बसाइका क्रममा गुरुद्वय एलपी भानु शर्मा तथा रमेश नेपालले विभिन्न नेपाली संस्थाहरुको आयोजनामा योग तथा ध्यान सम्बन्धी प्रशिक्षण तथा प्रवचन दिनु भएको थियो।

Leave A Reply

Your email address will not be published.