राष्ट्रिय सभा उपाध्यक्ष अर्यालले बुझाईन सम्पत्ति विवरण

0

काठमाडौं \ राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले संघीय संसद सचिवालयमा सम्पत्ति विवरण बुझाउनु भएको छ ।

उपाध्यक्ष अर्यालले आज सोमबार सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखामा आर्थिक वर्ष २०७९/८० को सम्पत्ति विवरण बुझाउनु भएको हो । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (१) तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ क को उपदफा (१) को प्रयोजनको लागि सार्वजनिक पदमा रहेका हरेक व्यक्तिले हरेक आर्थिक वर्षको व्यक्तिगत सम्पत्ति विवरण बुझाउनु पर्ने प्रावधान रहेको छ । उपाध्यक्ष अर्यालको सम्पत्ति बिवरण यस्तो छ ।

घर जग्गा र गरगहना

अर्यालको प्युठान नगरपालिका वडा नं ४ मा घडेरी २ रोपनी श्रीमान यमबहादुर थापाको नाममा रहेको पैतृक सम्पत्ति छ । त्यसैगरी सोही वडामा १३ रोपनी जग्गा रहेको छ त्यो पनि अर्यालका श्रीमान थापाको पैतृक सम्पति हो । पर्साको वीरगञ्ज महानगरपालिका वडा नं १४ मा जग्गा ३ कठ्ठा ८ धुर रहेको छ । उक्त सम्पति आफ्ना श्रीमान थापाको नाममा रहेको श्रीमानको र आफ्नो आयबाट खरिद गरिएको उपाध्यक्ष अर्यालले सम्पत्ति बिवरणमा उल्लेख गर्नुभएको छ ।

यस्तै काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नं ४ मा बालकोटको घर जग्गा बेचेर १८ आना घडेरी ४ करोडमा किनेको र जसमध्ये २ करोड ५३ लाख सहकारीबाट ऋण लिएको उल्लेख छ ।अर्यालको गरगहनामा दाइजो बापत प्राप्त सुनको गहना १२ तोला,हिराको गहना १ सेट,निलमको गहना १ सेट रहेको छ । चाँदी अन्दाजी ३ सय तोला स्वआर्जन र श्रीमानको आर्जनबाट किनेको र दाईजो तथा उपहार वापत प्राप्त भएको सम्पति बिवरणमा जनाइएको छ । नगद तथा बैंक मौज्दात एभरेष्ट बैंक र राष्ट्रिय बाणिज्य बैकमा गरेर अर्यालको ७४ हजार रहेको छ । अर्यालसँग बिभिन्न कम्पनीका शेयर रहेका छन् । अर्यालको २ करोड ५३ लाख मध्ये अब २३ लाख ऋण तिर्न बाँकी रहेको छ ।

उहाँसँग ल्यापटप –१ थान, टिभी – ३ थान लगायत फर्निचरका सामानहरु आफ्नो र श्रीमानको आम्दानीबाट खरिद गरिएको सम्पत्ति रहेको छ ।

Leave A Reply

Your email address will not be published.