मोबाइल बन्यो वित्तीय साक्षरताको शिक्षक

0

टिरिरिङ…….मोबाइलमा घण्टी बज्दा रोल्पा वडाचौर–२ की सुष्मा सुनारले हत्तपत्त मोबाइल उठाएर हेलो भन्न नपाउँदै उताबाट आवाज आयो, ‘हेलो नमस्कार ! यो वित्तीय साक्षरतासम्बन्धी चेतनामूलक सन्देश हो ।’उनी सुन्दै गइन् – ‘एक थुकी सुकी, सय थुकी नदी भने झैं महिनाको सय पचास जम्मा गर्नाले पनि भविष्यका लागि केही रकमको जोहो गर्न सकिन्छ । यसबाट आफ्नो तथा परिवारको औषधिमूलो, लुगाफाटो मात्रै नभई सानोतिनो उद्यम व्यवसाय नै सञ्चालन गरी सक्षम बन्न सकिन्छ । त्यसैले आजैदेखि बचत गर्ने बानी बसालौं र सक्षम बनौं ।’
सुरुमा त उनलाई कसले यसरी मोबाइलबाट बोलेको होला भन्ने कुराले अचम्भित तुल्यायो । कतै मोबाइलको ब्यालेन्स काटिन्छ कि भन्ने चिन्ता पनि नभएको होइन । मोबाइलबाट भनिएका कुराहरु उनलाई निकै मन प¥यो । भोलिपल्टै बिहान धारामा पानी भर्न आएका गाउँका अरु महिलालाई पनि आफ्नो मोबाइलमा अघिल्लो दिन आएको फोन सन्देशबारे कुरा सुनाइन् । आफूहरुको मोबाइलमा पनि त्यसरी नै बैंक तथा वित्तीय संस्थाहरुमा बचत गर्ने, ऋण लिने, विदेशबाट रेमिटेन्स पठाउने, पशु वा व्यवसायको बिमा गर्ने, स–साना व्यवसाय सञ्चालन गर्नेजस्ता सन्देशहरु आएको अनुभव उनीहरुले सुनाए ।
‘यो त गज्जबै भयो, अब मोबाइलमा भनिएअनुसार काम गर्ने हामीहरुले निधो ग¥यौं,’ सुष्माले भनिन् – ‘महिला, त्यसमाथि पनि दलित समुदायका हामीहरुको आँखा खोल्ने काम भएको छ । अब हामी आफ्नै खुट्टामा उभिन सक्षम भएका छौँ ।’ मोबाइलको सन्देशको प्रभावका कारण अहिले उनीजस्तै गाउँका महिलाहरुले मिलनचोक विजय महिला समूह गठन गरेर बचत सङ्कलन, ऋण परिचालनजस्ता कार्यमा वित्तीय सहजीकरण गरिरहेका छन् ।
मोबाइलबाट आफन्त वा चिनजानका व्यक्तिहरुसँग सञ्चोबिसञ्चो वा अन्य जानकारी थाहापाउन सकिन्छ भन्ने मात्र बुझेका यहाँका सर्वसाधारण अहिले वित्तीय साक्षरताबारे जान्न, बुझ्न पाउँदा अचम्भित भएका छन् । ‘मोबाइलबाट त टाढाटाढाका मानिससँग कुरा गर्न मिल्ने मात्र होइन रहेछ, कहाँ र कसरी बचत गर्ने, ऋण लिने र त्यसरी लिएको ऋणबाट कसरी व्यवसाय गर्नेदेखि विदेशबाट आएको रेमिटेन्स कसरी लिने भन्ने जस्ता व्यावहारिक ज्ञान पनि पाइने रहेछ’ सुष्माले भनिन् ।
कहिल्यै बैंकको मुख नदेखेका अधिकांश बासिन्दा अहिले मोबाइलबाट आएको सन्देशबाट प्रभावित भई बैंकमा गएर बचत गर्ने र पैसाको जरुरत भएमा साहूसँग चर्को ब्याजमा नभई बैंकबाट ऋण लिने काम गर्न थालेका छन् । विजय लघुवित्त वित्तीय संस्थाले वित्तीय सचेतनाका लागि गत अगस्टदेखि मोबाइलबाट वित्तीय साक्षरता अभियान सुरु गरेपछि महिलामा बैंक वा वित्तीय संस्थाप्रतिको आकर्षण बढेको पाइएको छ ।
विदेशमा रहेका आफन्तलाई हुण्डी वा कुनै व्यक्तिमार्फत पैसा पठाउँदा समयमा नपाउने÷हराउने समस्या झेल्दै आएका कतिपयले अब भरपर्दो ढङ्गबाट पैसा पठाउन अनुरोध गर्न थालेका छन् । कुनै व्यवसायका लागि पैसाको अभावमा विदेश जान बाध्य बनेका वा त्यतिकै बरालिएर हिँडेका युवा पनि बैंक वा वित्तीय संस्थाहरुबाटै व्यवसाय सुरु गर्ने तयारीमा छन् । ‘मोबाइलबाट आउने वित्तीय साक्षरताले त गाउँमा नयाँ हलचल नै ल्याएको छ,’ रोल्पा गाजुल–३का रुद्रबहादुर थापाले भन्नुभयो – ‘हिजोसम्म बैंक जान झन्झट मान्ने मजस्ता मानिसहरु पनि अब बैंक वा वित्तीय संस्थाहरुमार्फत नै कारोबार गर्न थालेका छन् ।’ थापाले बैंकबाट कर्जा लिएर कुखुरापालन व्यवसाय सुरु गर्नुभएको छ ।
दक्षिण अफ्रिकाको अनुभवका आधारमा नेपालमा पहिलोपटक विजय लघुवित्त वित्तीय संस्थाले यसखालको वित्तीय साक्षरता अभियान सुरु गरेको संस्थाका प्रबन्ध सञ्चालक वसन्त लम्सालले बताउनुभयो । पछिल्लो समय मोबाइल प्रविधिको व्यापक प्रयोगसँगै यस प्रविधिमार्फत वित्तीय साक्षरता अभियान निकै प्रभावकारी बन्ने उहाँको कथन छ ।
ग्रामीण क्षेत्रमा बसोबास गर्ने सीमान्तकृत समूहमा वित्तीय सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालित सक्षम कार्यक्रमको सहयोगमा सो संस्थाले दाङ, सल्यान, प्युठान, रोल्पा र रुकुममा वित्तीय पहुँचमार्फत पिछडिएका वर्गको जीविकोपार्जनको अवस्थामा सुधार कार्यक्रम सुरु गरेको छ । मोबाइलबाट दिइएको सन्देश प्रभावकारी देखिएपछि संस्थाले विजय एफएमबाट पनि एक मिनेटको नाटिका पनि प्रशारण गर्ने तयारी पनि गरिरहेको संस्थाका प्रबन्ध सञ्चालक बसन्त लम्सालले जानकारी दिनुभयो ।
सक्षमले आफ्ना साझेदार संस्थाहरूलाई नयाँ प्रविधिमा आधारित वित्तीय सेवा प्रदान गर्ने माध्यमहरूको परीक्षणका लागि सुदृढ व्यवस्थापन सूचना प्रणाली, ट्याब्लेट बैंकिङ परियोजना र साथमा उपलब्ध वित्तीय सेवाहरूबारे लाभार्थीहरूलाई शिक्षित गराउन मोबाइल प्रविधिको पहुँचमा जोड दिएको कार्यक्रमका वित्तीय क्षमता तथा तालिम विज्ञ सुमन ढकाल बताउनुहुन्छ ।
कार्यक्रमले क्षमता अभिवृद्धि योजना, समूह÷केन्द्र र प्रविधिमा आधारित वित्तीय साक्षरता पाठ्यक्रम र सामुदायिक रेडियो, ट्याब्लेट र अन्तक्र्रियात्मक आवाज सम्बोधन (आइभिआर) सन्देशको माध्यमबाट वित्तीय साक्षरताका परीक्षण अभियानहरूले लक्षित समूहहरूलाई शिक्षित तुल्याउनेजस्ता वित्तीय साक्षरताका परियोजनाहरूको सञ्चालनमा जोड दिएको छ । आइभिआर प्रविधिले मात्रै छ हजार जनालाई वित्तीय साक्षरतासम्बन्धी सन्देशहरू पु-याउनेछ । अहिले साझेदार वित्तीय संस्थाहरूका १३ हजार सदस्यले विभिन्न माध्यमद्वारा वित्तीय साक्षरतासम्बन्धी सन्देशहरू पाइरहेको सक्षमका सञ्चार प्रबन्धक उत्सव शाक्यले जानकारी दिनुभयो ।
विजय लघुवित्त वित्तीय संस्थाले ती जिल्लाहरुमा चारवटा नयाँ शाखाहरु स्थापना गरी आफ्ना सेवाहरु ग्रामीण दुर्गम भेगमा विस्तार गरेको छ र अन्य दुईवटा शाखा विस्तारको क्रममा छ । हाल संस्थामा आबद्ध एक हजार सदस्यहरुमध्ये ९५ प्रतिशत महिला तथा विपन्न समुदायका रहेका छन् । तीन वर्षभित्र दुई हजार आठ सय घरधुरीमा ऋण तथा बिमा सुविधा उपलब्ध गराउने तथा चार हजार परिवारलाई बचत गर्न सक्षम तुल्याउने लक्ष्य राखिएको संस्थाका महाप्रबन्धक नारायण सापकोटा बताउनुहुन्छ । यसबाट चार हजार २१९ वटा साना तथा मझौला उद्यमहरु सञ्चालन हुने अपेक्षा गरिएको छ । लक्ष्यित समुदायमा ७५ प्रतिशत गरिब, ८० प्रतिशत महिला, ३० प्र्रतिशत युवा र ४० प्रतिशत उपेक्षित समुदायका छन् । सापकोटाका अनुसार परियोजना अवधिभर करिब रु १७ करोड ऋण पूँजी परिचालन हुनेछ ।
संस्थाले व्यवसाय गर्न चाहनेहरुलाई बिना धितो घरदैलोमै पुगेर एक लाख २० हजार रुपैयाँसम्म ऋण प्रदान गर्दै आएको छ । अहिलेसम्म राप्ति अञ्चल र अन्य जिल्लाहरुमा पशुपालन, तरकारी खेती, किराना पसल, होटल, वर्कसपजस्ता रोजगारमूलक व्यवसाय गर्न रु २६ करोड ऋण परिचालन भइसकेको छ ।
– कृष्ण अधिकारी

Leave A Reply

Your email address will not be published.