साफ च्याम्पियनसिपअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा आज (मंगलबार) नेपाली राष्ट्रिय फुटबल टोली पाकिस्तानसँग भिड्दै छ। भारतको बैंग्लोरस्थित श्री कान्तिरभा स्टेडियममा हुने नेपाल-पाकिस्तान प्रतिस्पर्धा अपराह्न पौने ४ बजे सुरु हुनेछ।
समूह चरणको पहिलो खेलमा कुवेतसँग ३–१ ले तथा दोस्रो खेलमा घरेलु टोली भारतसँग २–० ले हार्दै नेपाल समूह चरणबाट बाहिरिएको हो।
पाकिस्तान भने भारत र कुवेत दुवै टोलीसँग समान ४–० ले हारेको थियो। अघिल्लो सिजन साफको फाइनल खेलेको नेपाली टोली सन् २०१५ पछि समूह चरणबाट नै बाहिरिएको हो। नेपाल रहेको समूह एबाट भारत र कुवेत अन्तिम चारमा प्रवेश गरेका छन्।
आजै हुने अर्को खेलमा समूह विजेताका लागि भारत र कुवेत भिड्नेछन्। साफमा यसपटक दक्षिण एसियाका ६ टोलीसँगै लेबनान र कुवेतले पनि प्रतिस्पर्धा गरिरहेका छन्। आफ्नो स्तरवृद्धिका लागि साफले दक्षिण एसिया बाहिरका दुई टोलीलाई आमन्त्रण गरेको हो।