प्रचण्ड सरकारको विकल्प छैन, कांग्रेसले गठबन्धन छाड्दैन : माधव सापकोटा

0

नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले सत्ता गठबन्धनमा एक किसिमको सहमति बनेपछि असार १२ गते संसदबाट बजेट पास हुने दाबी गरेका छन्। आइतबार संसदबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सांसदहरुले संसदमा उठाएका कुराको सम्बोधन हुनुपर्ने बताए।

‘बजेट पास हुन्छ, सत्ता गठबन्धनमा एक किसिमको सहमति बनेपछि बजेट पास हुनेछ,’ सांसद सापकोटाले भने, ‘अर्थमान्त्रीज्युले बजे संशोधन गर्छु र उठेका सवाल सुधारेर जान्छु, भन्नुभएको छ, उठेका कुरा सम्बोधन गरिनुपर्छ।’ अर्थमन्त्री डा. प्रकाशशरण महत र प्रधानमन्त्री पुष्पकमल दाहालले बजेट सुधार्ने प्रतिवद्धता जनाइसकेकाले बजेट पास हुने पनि उनले बताए।

‘अर्थमन्त्रीज्युले प्रतिवद्धता जनाउनु हुन्छ मेरो विचारमा। बाँकी कुरा सुधार गर्ने अधिकार मन्त्रिपरिषद्लाई हुन्छ,’ उनले भने, ‘त्यसैले यहाँ केही कमिटमेन्ट गराएर पार्टी र संसदलाई आश्वस्त पार्नुहुन्छ। विधि, प्रक्रियामा लगेर उठेका विषय सम्बोधन गर्ने प्रक्रियाबाट अघि बढ्छ।’

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार फेरेर अहिले कुनैपनि विकल्प नरहेको बताए। ‘प्रचण्ड सरकार फेरेर अर्को कुनै विकल्प तत्काल छैन। नेपाली कांग्रेस तयार नहुँदासम्म यो सरकार तलमाथि हुँदैन। नेपाली कांग्रेस तत्काल गठबन्धन परिवर्तन गर्ने पक्षमा छैन,’ उनले भने। उनले नेपाली कांग्रेस तत्काल गठबन्धन परिवर्तन गर्ने पक्षमा नरहेको जिकिर समेत गरे।

Leave A Reply

Your email address will not be published.