आफ्नो संस्कृति र संस्कार नबिर्सन आचार्य बालकृष्णको आग्रह

0

प्रसिद्ध आयुर्वेद शिरोमणि आचार्य बालकृष्णले प्रवासमा बसोबास गरिरहेका नेपालीहरुलाई आफ्नो भाषा, संस्कृति र पहिचान जोगाउन आग्रह गर्नु भएकोछ ।
नवौं विश्व योग दिवसको अवसरमा बिहीबार लन्डनको ह्यारोमा आयोजित समारोहलाई सम्बोधन गर्दै पतंजली योगपीठ ट्रष्टका महासचिव आचार्य बालकृष्णले संसारभरि जहाँ रहे पनि आफ्नो पहिचान जोगाउन क्रियाशील रहन आग्रह  गर्नु भएको हो,

‘बिरुवा उखेले पछि फेरी हुर्कन गाह्रो हुन्छ, प्रवाह टुट्यो भने फेरी जोडिंदैन, त्यसैले जहाँ रहे पनि आफ्नो पहिचान न बिर्सौं भनेर हाम्रो स्वाभिमान अभियान शुरु गरिएको हो,” उहाले भन्नु भयो । आचार्यले जुनसुकै जातजाति, भाषाभाषी भए पनि सबै नेपालीलाई जोडेर अगाडि बढ्नु पर्ने आवश्यकता रहेको बताउदै योगले शारीरिक र मानसिक रुपमा निरोगी बनाउने मात्रै नभै समाजमा शान्ति र सद्भाव बढाउने भएकाले नियमित रुपमा योग गर्न सुझाब दिनु भयो ।

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले आफ्नो भाषा र संस्कृति जोगाउनु नै आफ्नो पहिचान जोगाउने मन्त्र भएको बताउनु भयो । संसारभरिका नेपालीहरुलाई सामाजिक र सांस्कृतिक रुपमा जोड्ने हाम्रो स्वाभिमान ट्रष्टको अवधारणा सह्राहनीय रहेको बताउंदै राजदूत आचार्यले एक तपोभूमि, ज्ञान भूमि र ध्यान भूमिको रुपमा रहेको नेपाललाई आध्यात्मिक रुपमा अगाडि बढाउन योगको महत्वपूर्ण भूमिका रहेकोमा जोड दिनु भयो ।

बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा सूर्य सुवेदीले अहिले पूर्वीय सभ्यताको पुनर्जागरण हुन लागेको र यसमा पतंजली योगपीठ तथा आचार्य बालकृष्णको योगदान सह्राहनीय रहेको बताउनु भयो । उहाले यसबाट पूर्वीय सभ्यता अभ्यास गर्नेहरुलाई मात्रै नभएर पुरै मानव समुदायलाई फाइदा पुग्ने बताउनु भयो ।उहाले नेपाली पहिचान र संस्कृति जोगाउन हाम्रो स्वाभिमान ट्रष्ट अरु क्रियाशील रहोस् भन्ने शुभकामना पनि दिनुभयो ।

 

गैर आवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष कुल आचार्यले बिरामी भएर उपचार गर्नु भन्दा कसरी स्वस्थ रहने कला जान्नु महत्वपूर्ण हुने बताउनु भयो। । ‘आज नेपाल र भारत मात्रै हैन, सारा संसारले योग गरिरहेको छ। ऋषिहरुले तपस्या गरेको पवित्र भूमि नेपाललाई योग र ध्यानको केन्द्र बनाउन सहकार्य गर्न उहाले आग्रह गर्नु भयो ।

हाम्रो स्वाभिमान ट्रष्ट युके कार्यसमिति घोषणा

उक्त समारोहमा पतंजली योगपीठ ट्रष्टकी ट्रष्टी सुनिता पोद्दारले हाम्रो स्वाभिमान ट्रष्ट युकेको पहिलो कार्यसमितिको घोषणा गरेकी गर्नु भएको थियो । जस अनुसार अध्यक्ष रोहित गुरुङ्ग, उपाध्यक्ष इन्दिरा (सपना) खनिया, महासचिव अर्जुन कटुवाल, सचिव अजिता सिम्खडा र कोषाध्यक्ष महेश गिरी रहेका छन्। त्यस्तै सदस्यहरुमा निरुषा भट्टराई पाण्डे, निलहरि घिमिरे, खेम बसेल, मेजर (सेवानिवृत्त) पदम लिम्बु, मेग गुरुङ्ग र कृष्ण खरेल रहेका छन्।

कार्यक्रममा सहभागीहरुले पतंजली योगपीठकी साध्वी देवदिती, साध्वी देववाणी र लन्डनस्थित प्रशिक्षकहरुको साथमा योग तथा प्राणायामको अभ्यास गरेका थिए। निरुषा भट्टराई पाण्डेले संचालन गरेको कार्यक्रममा एनआरएनए युकेका अध्यक्ष सुनिल बाबु खड्काले शुभकामना दिनु भएको थियो ।

अर्जुन कटुवालले स्वागत मन्तव्य व्यक्त गरेका कार्यक्रममा ट्रस्टका अध्यक्ष रोहित गुरुङले सबैलाई धन्यवाद दिनु भएको थियो । कार्यक्रममा सेन्ट जेम्स स्कुलकी छात्रा समृद्धि पोखरेलले संस्कृतका श्लोकहरु वाचन गरेकी थिइन भने कृतिका आचार्यले नृत्य प्रस्तुत गरेकी थिइन।

बिहीबार नै आचार्य बालकृष्णले लन्डनस्थित नेपाली दूतावासको भ्रमण गरेर राजदूत आचार्यसंग भेटवार्ता गर्नु भएकोछ ।

 

Leave A Reply

Your email address will not be published.