किन गरे डा. भट्टराईले पार्टी त्याग ?

0

काठमाडौँ, ९ असोज । एकीकृत नेकपा (माओवादी) का वरिष्ठ नेता डा बाबुराम भट्टराईले आजैदेखि लागू हुने गरी पार्टीको साधारण सदस्यता समेत परित्याग गरेको घोषणा गर्नुभएको छ । उहाँले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरेर पार्टीको सबै जिम्मेवारी परित्याग गरेको र व्यवस्थापिका–संसद्को सदस्यसमेत नरहेको घोषणा गर्नुभयो ।
विगत ४० वर्षदेखि नेपालको राजनीतिमा आफू क्रियाशील रहेको र सधैँ सक्रिय राजनीतिमा रहनुपर्छ भन्ने नलागेर तत्कालका लागि स्वतन्त्र नागरिकको रुपमा रहने र आगामी दिनमा सबै पक्षसँग छलफल गरेर अगाडि बढ्ने धारणा राख्नुभयो । आफू देश र जनताको सेवामा प्रतिबद्ध भएर लाग्ने उल्लेख गर्दै उहाँले विचार मिल्ने विभिन्न समूह तथा शक्तिसँग मिलेर भूकम्पपछिको पुनःनिर्माण तथा विकास निर्माणमा प्रतिबद्ध भएर लाग्ने बताउनुभयो ।
संविधानसभाले नेपालको संविधान जारी गरेको र नेपाली जनताले उठाउँदै आएका केही मागहरु सम्बोधन भएको भन्दै उहाँले केही मागहरु भने पूरा हुन नसकेको भन्दै दुःख व्यक्त गर्नुभयो ।
थारु, मधेसी, आदिवासी, जनजाति तथा मगर समुदायको माग नयाँ संविधानले पूरा गर्न नसकेको भन्दै पूर्व प्रधानमन्त्रीसमेत रहनु भएका डा भट्टराईले मुलुकको समस्या मुलुकभित्रै समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।
संविधान निर्माणपछि नेपालको आन्तरिक मामलामा दक्षिणी छिमेकी मुलुक भारतले अनावश्यक दबाब र हस्तक्षेप गरेको उल्लेख गर्दै उहाँले त्यसखालको गतिविधिले राम्रो नगर्ने बताउनुभयो । कुनै पनि सानो वा ठूलो मुलुकको सार्वभौमसत्ता र अखण्डता भने सानो ठूलो हुन नसक्ने भन्दै उहाँले नेपालको आन्तरिक मामलामा कोही कसैले पनि हस्तक्षेप गर्न नहुने र नमिल्ने उहाँको कथन थियो ।
संविधान घोषणापछि मुलुकमा देखिएको समस्यालाई राजनीतिक तवरले सम्बोधन गर्नुपर्ने र भारतसँग कूटनीतिक तवरले संवाद गरेर समस्याको हल गर्नुपर्नेमा डा भट्टराईको जोड थियो । सरकारले आन्दोलनकारी मधेसी, थारु समुदायसँग वार्ता गरेर समस्याको समाधान गर्नुपर्ने र कुनै पनि वहानामा मुलुकलाई विखण्डनको दिशामा लैजान नहुने तर्क गर्नुभयो । उहाँले आफ्नो पाँचबुँदे प्रतिबद्धतासमेत जारी गर्दै पार्टी परित्यागको घोषणा गर्नुभएको थियो । उहाँको प्रतिबद्धतामा स्वाधीनता र सार्वभौमसत्ता, स्वतन्त्रता र लोकतन्त्र, समृद्धता, समाजवाद र सदाचार रहने उल्लेख गर्नुभयो ।

भूकम्पछिको पुनःनिर्माण हुन नसक्नु दुःखद्
पूर्वप्रधानमन्त्री समेत रहनु भएका डा भट्टराईले गत वैशाख १२ गते गएको भूकम्पका कारण मुलुकका करिब ८० लाख नागरिक प्रभावित भएपनि सरकारले त्यसतर्फ ध्यान नदिएको उहाँको भनाइ थियो । प्रभावकारी रुपमा भूकम्पपछिको पुनःनिर्माणमा लाग्नुपर्ने भएपनि प्राधिकरणसमेत गठन हुन नसक्ने अवस्थाले नागरिकलाई पीडामाथि पीडा दिएको भन्दै उहाँले तत्काल नै जनतालाई राहत दिन सरकार लाग्नुपर्नेमा जोड दिनुभयो । भूकम्प पीडितको राहत र उद्धारका लागि आफू पनि प्रतिबद्ध भएर लाग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । विकास निर्माणमा प्रतिबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्दै डा भट्टराईले आगामी दिनमा पनि विकास निर्माणको गतिविधिमा लाग्ने उहाँको कथन थियो ।

Leave A Reply

Your email address will not be published.