तीन दलको सहकार्य टुट्दैन : नेता नेपाल

0

काठमाडौं, ९ असोज । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले देशको राजनीतिमा पूर्ण स्थिरता कायम नभएसम्म प्रमुख तीन दलको सहकार्य नटुट्ने बताउनुभएको छ । नेकपा (एमाले), पाँचथर—काठमाडौँ सम्पर्क मञ्चको ११औँ सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उहाँले देश विकासका लागि वामपन्थी शक्ति लोकतन्त्रवादीसँग मिलेर जानुपर्ने बताउँदै आफ्नो पार्टीको तर्फबाट सहकार्यको निरन्तरताको प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पूर्वप्रधानमन्त्री नेपालले विगतमा पनि लोकतन्त्र स्थापनाका निम्ति काँग्रेस–कम्युनिष्ट एकजुट भएर आन्दोलन गर्दा सफल भएको दृष्टान्त प्रस्तुत गर्दै भन्नुभयो, “विगतका दुवै मिलेर काम गर्दा राणा तथा पञ्चायत विरोधी आन्दोलन सफल भयो, अहिले पनि संविधान निर्माण कार्य सम्पन्न भएको छ ।”
अर्को प्रसङ्गमा नेता नेपालले देशका केही भागमा आन्दोलनरत पक्षलाई वार्ताद्वारा समाधान खोज्न आग्रह गर्दै भन्नुभयो, “तपाइँहरुका माग जायज छन् भने आउनुहोस्, छलफल गरेरै समाधान गरौँ ।”
नेपाली काँग्रेसका केन्द्रीय सदस्य भीष्मराज आङ्देम्बेले असन्तुष्ट पक्षका माग संविधान संशोधनमार्फत पूरा गर्नसकिने ठाउँ रहेको बताउँदै भन्नुभयो, “गतिशीलता र परिवर्तनशीलता यो संविधानको राम्रो पक्ष हो ।”
कार्यक्रममा पूर्व राज्यमन्त्री डम्बरसिं सम्बाहाङ्फे, एमालेका केन्द्रीय सदस्य गणेश काम्बाङ, नेकपा (माले) का प्रमुख सचेतक अइन्द्रसुन्दर नेम्वाङलगायतले संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेकाले अबको शासन व्यवस्था निरंकुश र एकात्मक हुन नसक्ने बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.