गैरआवासीय नेपाली संघ (एनआरएनए)को आठौँ मध्यपूर्व क्षेत्रीय सम्मेलनको तयारी पुरा,

0

गैरआवासीय नेपाली संघ (एनआरएनए)को आठौँ मध्यपूर्व क्षेत्रीय सम्मेलनको तयारी पुरा भएको संघले जनाएकोछ । जुन महिनाको २८ देखि ३० सम्म होटेल मस्कट होलिडेमा हुने सम्मेलन बारे जानकारी दिन बुधबार साँझ आयोजित पत्रकार सम्मेलनमा ‘अनिवार्य सामाजिक सुरक्षा र सम्मानित वैदेशिक रोजगार रेमिट्यान्सको सही लगानी राष्ट्र निर्माणको आधार’ भन्ने मुल नारासहित आठौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन आयोजना गरिने जानकारी दिइएको हो ।

गैर आवासीय नेपाली संघ मध्यपुर्व संयोजक मनोज गोर्खालीको सभापतित्वमा सुरु गरिएको सम्मेलनबारे जानकारी दिने प्रेस मिटमा एनआरएनए कार्यकारी अध्यक्ष बद्री केसी , अध्यक्ष कुल आचार्य, उपाध्यक्षहरु महेश श्रेष्ठ राजेन्द्र कुमार शर्मा, डी बी क्षेत्री,नरेन्द्र भाट, डा. हेमराज शर्मा, यास्मिन बेगम ,युवा उपाध्यक्ष राज रेग्मी , उपमहासचिव रामशरण सिंखडा, सचिव प्रवीण गुरुङ , महिला सचिव टीका गुरुङ्ग, कोषाध्यक्षमा सुनिल साह, प्रवक्ता सोम सापकोटा ,युवा संयोजक अब्दुल बासिद , कार्यकारी निर्देशक रवि किरण अधिकारी , मिडियाकर्मी लगायत विभिन्न देशका एनआरएनए प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो।

गैरआवासीय नेपाली संघको मध्य पूर्व क्षेत्रीय परिषदको मुख्य आयोजना र राष्ट्रिय समन्वय परिषद ओमानको अतिथ्यतामा ओमानको मस्कटमा हुने सम्मेलनमा नेपाल सरकारका तर्फबाट प्रमुख अतिथिको रूपमा माननीय, उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का, विशेष अतिथि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारी, प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया लगायतको उपस्थिति रहनेछ ।

मुख्यतया, मध्यपूर्वमा रहेका नेपाली श्रमिकका सवाल, राष्ट्रिय अर्थतन्त्रमा ओझेलमा परेको उनीहरुको योगदान, श्रमिक र उनीहरुका परिवारको जीवनमा तात्विक परिवर्तन हुन नसकेको परिस्थिति, वैदेशिक रोजगारीको सामाजिक र पारिवारिक प्रभाव, सुरक्षित आप्रवासन, नीति तथा कार्यान्वयन, मध्यपूर्वमा कार्यरत श्रमिक र उनीहरुको परिवारको मानसिक तथा शारीरिक स्वास्थ्य, मध्यपूर्वमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका नेपालीको मताधिकार, वैदेशिक रोजगारीमा जाने युवाका लागि भाषा, सीपमूलक तालिम, फर्केर आएका युवा–युवतीका लागि उद्यममा लाग्न प्रोत्साहन तथा समाजमा पुनःस्थापना, पुर्नएकीकरण र समायोजन, सामाजिक सुरक्षा कोषमा आबद्धता, अनिवार्य सामाजिक सुरक्षा र सम्मानित वैदेशिक रोजगार, रेमिट्यान्सको सही लगानी लगायतका मुख्य एजेन्डामा छलफल हुनेछ ।

सम्मेलनले मध्यपूर्वमा कार्यरत नेपाली माझ स्थानीय भाषा र कानूनमा ज्ञानको कमी तथा सूचना अभावलगायत विविध कारणले जेलजीवन बिताउनु परेको र काम गर्ने क्रममा गम्भीर दुर्घटनामा परी अंगभंग भएका श्रमिकका समस्या निराकरणका लागि सुझाव दिनेछ । वैदेशिक रोजगारीमा जाने नेपालीको जनचेतना वृद्धि र विदेशमा सिकेका ज्ञान तथा सीपलाई मातृभूमिमा कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा पनि सम्मेलनमा छलफल हुनेछ । विदेशस्थित नेपाली नियोगमार्फत विदेशमा श्रम स्वीकृति एवं अनुगमनको व्यवस्था, श्रम स्वीकृति कार्यान्वयन, श्रम सीप बैंकको स्थापना, कामदार र सरकारी निकायबीच समन्वय, वैदेशिक रोजगारीमा गएकाको लागि सञ्चयकोषको व्यवस्था गर्न यस सम्मेलनले नेपाल सरकारको ध्यानाकर्षण गराउनेछ । सम्मेलनमा गैरआवासीय नेपाली समुदायको आवाज उठाउने र उनीहरूका समस्याहरूको समाधानका लागि नेपाल सरकारसँग संवाद स्थापित गर्ने उद्देश्यले राखिएको छ ।

श्रमिकका मुद्दा सम्बोधनका लागि नेपाल सरकार तथा सरोकारवाला निकायको ध्यानाकर्षण गराउने उद्देश्यले आयोजना गर्न लागिएको यो सम्मेलन पूर्णतः श्रमिक केन्द्रित हुने भएकोले उनीहरुका अभिव्यक्ति, अनुभव र विचार व्यक्त गर्ने अवसर समेत प्रदान गरिनेछ । समग्र युवा तथा महिलाका मुद्दालाई समेत प्राथमिकता दिइने सम्मेलन पूर्ण रुपमा समावेशी हुनेछ । सम्मेलनमा मध्यपूर्वसहित विभिन्न मुलुकका करीब ५०० जना प्रतिनिधिको सहभागिता रहने अनुमान छ ।

सम्मेलनमा एनआरएनए सचिव प्रविन गुरुङले आफू मध्यपूर्व संयोजक रहदा कोरोनाको कारण नसकिएको तर आफ्नो कार्यकालमा उपसंयोजक भएर सहयोग गर्दै आएका मनोज कुमार श्रेष्ठ , राजेन्द्र अर्याललाई सम्मेलन सफलताको शुभकामना दिएका छन्।

त्यस्तै यो सम्मेलनले मध्यपूर्वको आवाजलाई सरकार सम्म पुर्याउन मद्दत गर्ने उनको बुझाइ छ। युवा उपाध्यक्ष राज रेग्मीले लामो इतिहास बोकेको एनआरएनए मध्यपूर्वले देशमा दिएको योगदान बारे सबै जानकार रहेको उल्लेख गरे।महिला उपाध्यक्ष यस्मिन बेगमले यो सम्मेलनले एनआरएनए को आसन्न ११औं महाधिबेसन सबै एनआरएन लाई एकजुट गराउन पनि महत्वपूर्ण सेतु बन्ने उनले दर्साइन्।अर्का उपाध्यक्ष नरेन्द्र भाटले एनआरएनएले उठाएका मुद्दाहरुमा विदेशमा रहेका नेपालीहरुलाई मतदानको सुनिश्चिताको लागि सरकारको आगामी योजनाको प्रशंसा गरेका थिए।

उपाध्यक्ष राजेन्द्र कुमार शर्माले २००३ मा एनआरएनए रसियामा गठन भए पछि कतारमा एनआरएनए गठन भएको र नेपालमा आपत बिपत पर्दा सहयोगको लागि सधैं मध्यपूर्वको साथ , रेमिट्यान्स बढी पठाएर समृद्ध नेपाल बनाउन मध्यपूर्वको उल्लेखनीय भूमिका रहेको बताए। त्यस्तै उनले हालै सरकारले ल्याएको सामाजिक सुरक्षा योजनालाई सफल बनाउन आठौ मध्यपूर्व सम्मेलनले अझै प्रभावकारी बनाउने बताए।

सम्मेलनमा उपस्थित केन्द्रीय अध्यक्ष लगायत पदाधिकारीहरुले सम्मेलनको सफलताको शुभकामना दिएका थिए भने भोट अफ थ्याङ्क्स एनआरएनए एन.सि.सि.ओमनका अध्यक्ष तथा मध्यपुर्ब भेलाका होस्ट बिकल झाले दिएका थिए।

उक्त कार्यक्रम सञ्चालन मध्यपूर्व संयोजक राजेन्द्र अर्याल जोनले गरेका थिए, संयोजकद्वय मनोज कुमार श्रेष्ठ(गोर्खाली) र राजेन्द्र अर्याल जोनका अनुशार मध्यपूर्व भेलामा अन्य क्षेत्रबाट आउने एनआरएन अभियन्ताहरुलाई अतिथि देवो भव: भन्ने मर्मलाई आत्मसात गर्दै दरखास्त शुल्क नलिने निर्णय गरेको बताए।

त्यस्तै अर्का मध्यपूर्व संयोजक मनोज कुमार श्रेष्ठले आठौं एनआरएनए मध्यपूर्व क्षेत्रीय सम्मेलन, ओमान प्रेस विज्ञप्ति पढेर सुनाएका थिए ।

Leave A Reply

Your email address will not be published.