नेदरल्यान्डसको विश्वविद्यालयमा नेपाली वृतचित्र प्रदर्शन

0

काठमाडौं, ९ असोज । नेदरल्याण्डसको लेडन विश्वविद्यालयको दक्षिण एसिया अध्ययन केन्द्रमा काठमाडौँको इन्द्रायणी जात्रासँग सम्बन्धित ‘स्याक्रिफाइस अभ दि सरपेन्टस्’ नामक वृतचित्र गत बिहीबार प्रदर्शन गरिएको छ । सोही विश्वविद्यालयका प्राध्यापक डा बालगोपाल श्रेष्ठ र बर्ट भान डेन होकको अनुसन्धानमा आधारित भई सन् १९९२ देखि १९९४ मा डा डिर्क निजल्याण्डले नेपालको साँस्कृतिक तथा सामाजिक परिवेश झल्किने गरी वृतचित्र निर्माण गर्नुभएको हो ।
दक्षिण एसिया अध्ययन केन्द्रले आयोजना गरेको कार्यक्रममा केन्द्रका अध्यक्ष प्राध्यापक डा पिटर बिसचपलगायत ठूलो सङ्ख्यामा डच नागरिकको समेत सहभागिता रहेको बेल्जियमस्थित नेपाली दूतावासले बताएको छ । सो अवसरमा बेल्जियमका लागि नेपाली राजदूत राममणि पोखरेलले गत हप्तामात्रै नेपालमा जारी भएको नयाँ संविधानले नेपाली जनतालाई नयाँ ऊर्जाका साथ राष्ट्र निर्माणमा होमिन उत्प्रेरित गरेको भन्दै आउँदा दिनमा नेपालले आफ्ना अन्तर्राष्ट्रिय मित्रबाट अझ बढी सहयोग, सद्भावको अपेक्षा गरेको बताउनुभयो ।
राजदूत पोखरेलले भूकम्पका बाबजुद पनि नेपालका मुख्य पर्यटकीय केन्द्र यथावत् नै रहेकाले डच नागरिकलाई नेपाल भ्रमणको निम्तोसमेत दिनुभयो । सोही अवसरमा राजदूत पोखरेलले दक्षिण एसिया अध्ययन केन्द्र तथा विश्वविद्यालयलाई सगरमाथा र लुम्बिनीको लेमिनेटेड भित्ते पोस्टर पनि प्रदान गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.