आश्रममा बसेका र सीमान्तकृतको स्वास्थ्य बिमा

0

हेटौँडा \  बागमती प्रदेश सरकारले प्रदेशभित्र आश्रममा रहेका र सीमान्तकृत समुदायका सबै व्यक्तिलाई स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गर्ने भएको छ। बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले यो समूहको स्वास्थ्य बिमा गर्ने गरी काम अगाडि बढाएको हो।

ज्येष्ठ नागरिक, अनाथ, बालगृहलगायतका आश्रममा रहेकाको पहिचान गरी स्वास्थ्य बिमाबापत लाग्ने खर्च प्रदेश सरकारले नै बेहोर्ने भएको हो। बागमती प्रदेशभित्रका कतिपय स्थानीय तहले विभिन्न मापदण्ड बनाएर स्थानीय तहभित्रका नागरिकको स्वास्थ्य बिमा गरिदिँदै आएका छन्।

आव २०७९/८० देखि नै नागरिकको स्वास्थ्यमा पहुँच वृद्धि गर्न प्रदेश सरकारले सीमान्तकृत समुदायको स्वास्थ्य बिमा गर्ने गरी प्रक्रिया अगाडि बढाएको हो। बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले हेटौँडामा मुख्य कार्यालय रहेको मानव सेवा आश्रमबाट स्वास्थ्य बिमा गर्ने कार्यको शुभारम्भ गर्न‘भएको छ। मन्त्री जोशीले आश्रममा रहेका र सीमान्तकृत समुदायलाई सहज रूपमा स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य बिमासँग जोड्न लागेको जानकारी दिनुभयो।

मानव सेवा आश्रममा हेटौँडामा २१५, चितवन ६०, काठमाडौँमा १२८, भक्तपुर ४०, ललितपुरमा ४४ गरी ५८७ जना आश्रित रहेको जनाइएको छ। मानव सेवा आश्रम, बालगृहलगायतका गैरनाफामूलक आश्रममा गरी प्रदेशभित्र झन्डै चार हजार जना आश्रित रहेको अनुमान छ।

१४ लाखभन्दा बढी आबद्ध

बागमती प्रदेशमा १४ लाखभन्दा बढी स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध रहेका छन्। स्वास्थ्य बिमा बोर्ड, बागमती प्रदेश कार्यालयका अनुसार स्वास्थ्य बिमा कार्यक्रममा हालसम्म १४ लाख ११ हजार ७३१ जना आबद्ध रहेका छन्।

अति गरिबको परिचयपत्र प्राप्त गरेका परिवार, अति अशक्त अपाङ्गता भएका, कुष्ठरोगी, एचआइभी सङ्व्रmमित र जटिल खालका क्षयरोग (एमडिआर टिबी) बिरामी भएका परिवार र ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकले स्वास्थ्य बिमाबापत तिर्न‘पर्ने रकम निःशुल्क हुने व्यवस्था रहेको छ। यस्तै महिला स्वास्थ्य स्वयंसेविकाको परिवारले यो सुविधा प्राप्त गर्न स्वास्थ्य बिमाबापत लाग्ने रकमको ५० प्रतिशत मात्रै योगदान गर्नुपर्ने हुन्छ।

बोर्डका बागमती प्रदेश कार्यालयका प्रदेश संयोजक जीवलाल खरेलले यस प्रदेशमा बिमा कार्यक्रममा एक लाख १५ हजार ९५३ ज्येष्ठ नागरिक, ४३ हजार ९४३ अति गरिब परिवार, ‘क’ वर्गका अपाङ्गता भएकाको परिवार चार हजार ४०३, अति गरिब परिवार आठ हजार १० र महिला स्वास्थ्य स्वयंसेविका तीन हजार ८७१ जना आबद्ध रहेको जानकारी दिनुभयो। उहाँका अनुसार कुष्ठरोगीका २१७ परिवार, एचआइभी सङ्व्रmमितका चार हजार २६३ परिवार र जटिल खालका क्षयरोग (एमडिआर टिबी) बिरामी भएका २० परिवार स्वास्थ्य बिमा कार्यव्रmममा आबद्ध छन् ।

स्वास्थ्य बिमा कार्यक्रममा पाँच जनासम्मको परिवार भएका परिवारले तीन हजार पाँच सय रुपियाँ योगदान गरी प्रतिवर्ष एक लाख रुपियाँसम्मको स्वास्थ्य सेवा पाउन सक्ने व्यवस्था रहेको छ।

मन्त्री जोशीले भन्नुभयो, “प्रदेशभित्रका सबै आश्रित व्यक्तिको निःशुल्क स्वास्थ्य बिमा गर्छाैं।” उहाँले स्वास्थ्य बिमा गरेसँगै स्वास्थ्य सेवामाथिको पहुँच बढ्ने र उनीहरूको उपचार सहज हुने बताउनुभयो।

बोर्डका बागमती प्रदेश संयोजक खरेलले यस प्रदेशका कतिपय स्थानीय तहले आफ्नो क्षेत्रभित्रका नागरिकलाई स्वास्थ्य बिमा कार्यक्रममा जोड्न योगदान गरेको बताउनुभयो।

Leave A Reply

Your email address will not be published.