आजदेखि क्रमशः मौसम बदली र वर्षा बढ्छ, अब गर्मीमा राहत हुन्छ : मौसमविद्

0

आज (आइतबार) देखि मौसम बदली (बादल लाग्ने) र वर्षा हुने क्रम क्रमशः बढ्दै जाने मौसमविद्ले बताएका छन्। जसका कारण अब केही दिनदेखि भइरहेको गर्मीमा राहत महसुस हुने अपेक्षा गरिएको छ।

दुई हप्ताभन्दा बढी दिनदेखि बादल नलाग्ने र पानी नपर्ने हुँदा देशभर गर्मी बढेको छ भने विशेषगरी तराई क्षेत्रमा अत्यधिक गर्मी र तातो हावाले जनजीवन निकै कष्टकर भइरहेको छ।  मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले आजदेखि क्रमशः मौसम बदली र वर्षा हुने सम्भावना बढेको बताइन्।  ‘यसले गर्मी घटिहाल्छ भनेर अहिल्यै मैले भनिनँँ, तर निरन्तर उकालो लागेको तापक्रम धेरैजसो स्थानमा स्थिर रहने वा केही डिग्री घट्नेछ’, उनले भनिन्, ‘यति भनौँ- गर्मीमा राहत पक्कै हुनेछ।’

मौसम महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली (आकाशमा बादल) रही बाँकी स्थानमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ। यस क्रममा कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

मौसमविद् कँडेलका अनुसार आज अपराह्न काठमाडौं उपत्यकामा पनि क्षणिक वर्षाको सम्भावना छ। ‘दिउँसो २/३ बजेपछि काठमाडौं उपत्यकामा पनि क्षणिक वर्षा हुने सम्भावना छ’, उनले भनिन्, ‘यहाँ पनि गर्मीमा केही राहतचैं हुने देखिन्छ।’

यस्तै राति कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनुका साथै देशका बाँकी पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानका साथै मधेश प्रदेशलगायत देशका बाँकी पहाडी भेगका एक÷दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

Leave A Reply

Your email address will not be published.