इतिहासमै पहिलोपटक देशको शीर ठाडो पारेर भारतबाट फर्किएको छु : प्रधानमन्त्री

0

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले देश र जनताको हितमा एकपछि अर्को काम गर्न थालेपछि भ्रष्टहरू अत्तालिन थालेको बताएका छन् । शनिबार दिउँसो नुवाकोटको लाँकुरी भञ्ज्याङमा पञ्चकन्या गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्दै प्रधानमन्त्रीले वर्तमान सरकारले देश र जनताको हितलाई केन्द्रमा राखेर काम गरेपछि भ्रष्टहरू अत्तालिएको र विरोधका लागि विरोधको राजनीति गरेको बताएका हुन्।

साथै, उनले यसपटकको भारत भ्रमणमा इतिहासको पहिलोपटक देशको शीर ठाडो पारेर फर्किएको दाबी समेत गरे। ‘यसपटकको भारत भ्रमण देशको स्वाधीनता, विकास र समृद्धिका पक्षमा महत्वपूर्ण सहमति भएका छन्। इतिहासमा पहिलोपटक देशको शीर ठाडो पारेर फर्किएको छु,’ प्रधानमन्त्रीले भने, ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत सीमा समस्या सम्बोधन गर्ने सार्वजनिक प्रतिवद्धता जनाउनुभएको छ, यो ठूलो कुरा हो। यो सिंगो राष्ट्रका लागि गौरवको विषय हो।

२६ वर्षदेखि रोकिएको पञ्चेश्वर परियोजना ३ महिनाभित्र अगाडि बढाउने सहमति भएको छ। १० वर्षमा १० हजार विद्युत निर्यात गर्नेगरि सम्झौता भएको छ। बैकल्पिक हवाइमार्गका लागि सकारात्मक छलफल भएको छ। अन्य महत्वपूर्ण परियोजनामा पनि सहमति भएको छ। यो देशका लागि दूरगामी महत्वको उपलब्धि हो।’

प्रधानमन्त्री प्रचण्डले विकासमा राजनीतिक पूर्वाग्रह राख्न नहुने बताउँदै सहमति र राष्ट्रिय संकल्पको आवश्यक्ता औंल्याए।

Leave A Reply

Your email address will not be published.