मेरो भारत भ्रमण आर्थिक विकास र समृद्धिमा केन्द्रितः  प्रधानमन्त्री

0

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमण आर्थिक विकास र समृद्धिका लागि केन्द्रित भएको बताएका छन् । राष्ट्रियसभाको बुधबारको बैठकमा सार्वजनिक महत्वको विषयमा वक्तव्य दिँदै उनले भ्रमणले दुई देशबीच आपसी विश्वास बढाउन तथा आर्थिक विकासलाई केन्द्रमा राख्न सफल भएको बताए ।

प्रधानमन्त्री दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भएको भेटवार्ता महत्वपूर्ण रहेको उल्लेख गर्दै भ्रमण विशेष गरी विद्युत् व्यापार, कृषि, सुक्खा बन्दरगाह, पारवहनलगायतका विषयमा केन्द्रित रहेको जानकारी दिए । उनले भ्रमणका क्रममा भारतसँग अतिरिक्त हवाई प्रवेश विन्दुको अनुमतिका विषयमा समेत महत्वपूर्ण  र सकारात्मक छलफल अगाडि बढेको जानकारी दिए । उनले जलविद्युत् क्षेत्रमा सहकार्य गर्ने सन्दर्भमा पनि उत्तिकै गम्भीर छलफल एवम् सहमति भएको भनाइ राखे ।

‘भारतीय भूमि हुँदै बङ्गलादेशसँग बिजुली व्यापारका लागि सहमति भएको छ । भारतीय प्रधानमन्त्रीले नेपालबाट आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली आयात गर्ने बताउनुभएको छ’, प्रधानमन्त्री दाहालले भने । यसले माथिल्लो तामाकोशी जलविद्युत्लगायतका आयोजनाबाट उत्पादित बिजुली निर्यात हुने वातावरण बनेको जानकारी दिए ।

जलविद्युत्को बजार सुनिश्चित भएको र त्यसले मुलुकको ऊर्जा क्षेत्रमा थप लगानीका लागि मार्ग प्रशस्त भएको, पञ्चेश्वर आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तीन महिनाभित्र पूरा गर्ने र एक वर्षभित्र कार्यान्वयनको ढाँचा तय गर्ने सहमति भएको प्रधानमन्त्रीको भनाइ छ ।

टनकपुरमा पानी उपलब्ध गराउने र सीमावर्ती क्षेत्रमा हुँदै आएको बाढी तथा डुबान नियन्त्रणका लागि दुवै देशका प्रधानमन्त्रीले निर्देशन दिएकोसमेत प्रधानमन्त्रीले जानकारी दिए । साथै झुलाघाट, पूर्णागिरीलगायतका क्षेत्रमा मोटरेबल तथा झोलुङ्गे पुल निर्माणका विषयमा पनि भारतीय पक्षसँग छलफल भएको उनको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.