काठमाडौं, ५ असोज । गैरआवासीय नेपाली सङ्घ बेलायत र नेपाल पत्रकार महासङ्घ बेलायतको सक्रियतामा स्थापित ‘एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार २०१५’ ‘इमेज च्यानल टिभी’का होमप्रसाद लम्साल र ‘अन्नपूर्ण पोष्ट’की दीपा दाहाललाई संयुक्त रुपमा दिइने भएको छ ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टको अध्यक्षतामा गठित पुरस्कार छनोट समितिको हालै सम्पन्न बैठकले सो निर्णय गरेको हो । रु एक लाख एक हजार राशिको सो पुरस्कार लम्साल र दाहाललाई संयुक्तरुपमा गैरआवासीय नेपाली सङ्घको आगामी विश्व सम्मेलनका क्रममा काठमाडौँमा प्रदान गरिने बताइएको छ ।
लम्साललाई इमेज टिभीको अलगधार कार्यक्रममा टेलिभिजनमार्फत् युरोपका विभिन्न देशमा नेपालीले भोगेको परराष्ट्र मन्त्रालयले लगाउने गरेको छाप र कागजातसम्बन्धी समस्या प्रस्तुत गरेबापत र दाहाललाई नेपालको जाजरकोटमा फैलिएको महामारी र भूकम्पका बेला स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउने समाचार लेखेबापत सो पुरस्कार प्रदान गर्न लागिएको हो ।
गैरआवासीय नेपाली सङ्घ बेलायतका नवनिर्वाचित अध्यक्ष मुछेत्र गुरुङले बेलायतको जनसमुदायबाट सङ्कलित सहयोगबाट स्थापित अक्षयकोषमार्फत नेपालमा कार्यरत पत्रकारलाई सम्मान गर्न पाउनु खुसीको खबर भएको बताउनुभयो ।