आफ्ना छोराछोरीलाई असल संस्कार दिनोस्: गुरु डा चिन्तामणिनाथ योगी

0

लण्डन — हाल बेलायतको भ्रमणमा रहेका आध्यात्मिक चिन्तक गुरु डा चिन्तामणिनाथ योगीले आफ्ना छोराछोरीलाई असल संस्कार दिन सबै अभिभावकहरुलाई आग्रह गरेका छन्।

एनआरएनएयुकेको धर्म विभागद्वारा आइतबार साउथहलस्थित विश्व हिन्दु मन्दिरमा आयोजित सत्संगलाई सम्बोधन गर्दै गुरु योगीले बेलायत वा नेपालमा घर सम्पत्ति जोडे पनि छोरा, छोरीले असल संस्कार पाएनन् भने त्यो निरर्थक हुने बताए। 

‘आफ्ना छोरा छोरीलाई योग्य, सुसंस्कृत र प्रतिभाशाली नागरिक बनाएर ठूल्ठूला पदमा नेपालमा पठाउनोस, मातृभूमिप्रति त्यो तपाईंहरुको ठूलो गुन हुनेछ,’ हिन्दु विद्यापीठ नेपालका संस्थापक प्राचार्य पनि रहेका डा योगीले भने। उनले घरमा नेपाली बोल्न र बालबालिकाका लागि नेपाली पाठशाला संचालन गर्न पनि सुझाव दिए। 

‘प्रवासमा हाम्रो धर्म, संस्कृति र पहिचान’ विषयमा प्रवचन दिंदै योगीले प्रवासले नै श्री रामचन्द्रलाई भगवान राम र श्री कृष्णलाई भगवान श्री कृष्ण बनाएको बताए। 

‘चाडबाड धुमधामसंग मनाउनोस्। भगवान श्री रामको मर्यादा र माता सीताको आदर्श जीवन पद्धतिलाइ घर भित्र ल्याउनोस्।  आफ्नो घरलाई नै मन्दिर बनाउ नोस्,’ उनले भने।  ‘मातृ देवो भव, पितृ देवो भव, आचार्य देवो भव भन्ने मन्त्र बालबालिकालाई सिकाउन र हरेक घरमा रामायण, गीता तथा पृथ्वी नारायण शाहको दिव्योपदेश राख्न पनि उनले सुझाव दिए। उनले स्व-रुपान्तरणको लागि प्रयत्नरत रहन र बाहुन, क्षेत्री, मगर, गुरुङ हैन, प्रवासमा केवल नेपाली मात्रै बन्न आग्रह पनि गरे।

उक्त अवसरमा बोल्दै गैर आवासीय नेपाली संघ आइसीसी का अध्यक्ष कुल आचार्यले नेपालमा मात्रै हैन, प्रवासमा रहेका सबै नेपालीलाई एकताको एउटै सूत्रमा जोड्न आवश्यक रहेको बताए।  उनले नेपाली संस्कृति र पहिचानको प्रवर्धन गर्न र  नेपाल बाहिर हुर्किरहेको दोश्रो पुस्तालाई नेपालसंग जोड्न  संघले काम गरिरहेको पनि बताए।

सबै सहभागीहरुलाई स्वागत गर्दै  उक्त कार्यक्रमका संयोजक पं चिरन्जीवी ढकालले  डा योगीले संसार भरि भ्रमण गरेर नेपाली धर्म, संस्कृति र पहिचान जोगाउन महत्व पूर्ण योगदान गरिरहेको बता ए। त्यस्तै एनआरएनएयुकेको धर्म विभागकी संयोजक सपना खनियाले गुरु डा योगी लगायत विश्व हिन्दु मन्दिर र उपस्थित सबैलाई धन्यवाद दिइन्। 

आइतबार नै गुरु डा योगीले ह्यारो विल्डस्थित सिद्धाश्रम शक्ति केन्द्रमा आयोजित अर्को सत्संगलाई पनि सम्बोधन गरेका थिए।  उनले आत्मनिरीक्षण गर्न र आफ्नो जीवनको लक्ष र मार्ग आफै निर्धारण गर्न पनि आग्रह गरे। 

काठमाडौँस्थित शान्ति सेवा आश्रमका संस्थापक डा योगी विश्व ओमकार एकता महाभियानका संयोजक पनि  हुन्।  बेलायतमा चेतना यात्राको क्रममा उनले विभिन्न नेपाली संघसंस्थाका साथै अक्सफोर्ड विश्वविद्यालय, क्याम्ब्रिज  विश्वविद्यालय, लन्डनस्थित सेन्ट जेम्स स्कुल, वर्ल्ड गुडविल युके जस्ता संस्थाहरुमा  भ्रमण तथा भेटघाट गरिरहेका छन् । उनले अल्डरशटस्थित शिव कल्चर सेन्टर (शिव मन्दिर) तथा बौध्द गुम्बामा आयोजित सत्संगहरुलाई सम्बोधन गर्दै बेलायतमा बसोबास गरिरहेका ओमकार परिवार तथा गोर्खाली बन्धुहरुलाई एकताको एउटै मालामा आबद्ध गर्नु पर्नेमा जोड दिए।

 गत शिवरात्रीका दिन उनले बर्मिङ्घमस्थित पशुपतिनाथ मन्दिरमा प्रवचन दिएका थिए ।

Leave A Reply

Your email address will not be published.