रविले गृह नपाएपछि बाहिरियो रास्वपा

0

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएको छ । तर, सरकारलाई समर्थन भने कायम राख्ने निर्णय गरेको छ । 

सोमवार रास्वपाद्वारा आयोजित पत्रकार सम्मेलनमा पार्टी सभापति रवि लामिछानेले सरकारबाट पार्टी बाहिरिए पनि समर्थन कायम राख्ने बताए । उनले भने, ‘मन्त्रीहरुलाई फिर्ता बोलाएर सरकारलाई दिएको समर्थन कायम रहन्छ ।’ 

यसअघि गत बिहीवार पार्टी प्रवक्ता मुकुल ढकालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी ओलीको आग्रहमा दुई दिन पर्खने बताएका थिए । बिहीवार पार्टी कार्यालय बसुन्धरामा बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा गृह मन्त्रालय पार्टीलाई नदिइएपछि उत्पन्न परिस्थितिबारे छलफल भएको थियो । दुई दिनको अल्टिमेटमभित्र गृह मन्त्रालय नपाएपछि रास्वपा सरकारबाट बाहिरिएको हो ।

सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टीका दुई मन्त्री र एक राज्यमन्त्री थिए । यसअघि पार्टी सभापति रवि लामिछाने पनि उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेका थिए । अमेरिकी नागरिकता त्याग गरेका लामिछानेले नेपाली नागरिकता ब्यूँताउने प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले गत साता उनको सांसद पद खारेज गरिदिएसँगै उनले राजीनामा दिए । बाँकी दुई मन्त्री र एक राज्यमन्त्रीले पनि आइतबार राजीनामा दिए ।

नेपाली नागरिकता सक्रिय बनाएपछि पुनः गृहमन्त्री बन्न प्रयास गरेका लामिछानेलाई  प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री बनाउन अस्वीकार गरेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिए पनि समर्थन कायमै राख्ने निर्णय गरेको छ । त्यसो त यो दलले समर्थन फिर्ता लिए पनि सरकारले संसद्मा बहुमत भने गुमाउने छैन । प्रतिनिधिसभामा उक्त दलका १९ सांसद छन् । सरकारमा सहभागी नभएको नेपाली कांग्रेसले पनि यसअघि प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको थियो । बहुमत नगुमाउने भएका कारण प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुपर्ने छैन ।

सरकारबाट बाहिरिने निर्णयपछि रवि लामिछानेले सोमवार अपरान्ह विशेष पत्रकार सम्मेलन गरे । जहाँ उनले नेताहरुलाई गाली गरेनन् । बरु उनले पत्रकारलाई नै प्रतिप्रश्न गरे । मिडिया सञ्चालक र सम्पादकहरुको उछितो काढे । ‘लखेटी लखेटी मलाई उपप्रधानमन्त्री र गृहमन्त्री बनाउनुभयो, अब के बनाउनुहुन्छ ?’ उनको प्रश्न छ । 

उपप्रधानमन्त्री, सांसद, मन्त्री सबै पद गुमेपछि आफू आक्रोशित भएको स्वीकारिरहेका लामिछानेले ‘म मुडमा छु है’ भन्दै सञ्चारमाध्यम र विभिन्न पेशामा रहेका व्यक्तिको निजी जीवनमा प्रवेश गर्दै लाञ्छना पनि लगाए । ‘मन्त्री पद गुमेको झोँकमा यो झोंक्किएछ भन्ने लाग्यो होला तपाईलाई,’ लामिछानेले भने, ‘अलि अलि त हो, मन्त्री, सांसद सबै गुमेपछि रिस उठ्या छ, कम रिस उठ्छ ?’ 

महासंघको आपत्ति 

रविको अभिव्यक्ति गैरजिम्मेवार रहेको भन्दै नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । सोमवार महासंघका तर्फबाट महासचिव रोसन पुरीले विज्ञप्ति जारी गरि लामिछानेले नेपाली सञ्चारक्षेत्रप्रति आधारहीन र पूर्वाग्रही आरोप लगाउँदै धम्किपूर्ण अभिव्यक्ति दिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर प्रहार भएको जिकिर गरेको छ ।

संसदको चौथो ठूलो दलका अध्यक्ष तथा उपप्रधान तथा गृहमन्त्रीसमेत रहिसकेका व्यक्तिले सञ्चारक्षेत्रप्रति संयम गुमाएर अभिव्यक्ति दिनु समग्र सञ्चारक्षेत्रमाथिको प्रहार भएको समेत बताएको छ ।

‘लामिछानेको अभिव्यक्तिले कुनै अप्रिय घटना घटेमा त्यसको जिम्मेवारी स्वयं अध्यक्ष लमिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीले लिनुपर्नेमा महासंघ प्रष्ट पार्न चाहन्छ,’ महासंघको विज्ञप्तिमा भनिएको छ, ‘सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीको नामै लिएर सार्वजनिक रूपमा धम्की दिइनुले नेपालका सञ्चार प्रतिष्ठान र सञ्चारकर्मी असुरक्षित हुनसक्ने तथ्यप्रति महासंघ चिन्ता प्रकट गर्दछ ।’

Leave A Reply

Your email address will not be published.