नयाँ संविधान आएकोमा प्रवासी नेपालीमा खुशीयाली

0

काठमाडौं,  ४  असोज । प्रवासी नेपालीहरुले पनि नयाँ संविधान जारी भएकोमा खुशी प्रकट गरेका छन् । गैर आवासीय नेपाली संघ (एनआरएनए) आइसीसी अध्यक्ष शेष घलेले नयाँ संविधानबाट आफू आशावादी भएको बताएका छन् । उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘नेपाली जनता आफैंले लेखेको संविधान जारी गर्ने यो ऐतिहासिक अवसरमा म पनि सरिक हुन पाएँ ।’ उनले संविधान जारी हुँदा देखिएको उत्साहबाट आफू निकै आशावादी भएको जनाएका छन् ।
उनले लेखेका छन्, ‘नेपाली जनताको अपनत्व बोकेको यो संविधानले राजनीतिक स्थिरता ल्याउने छ र मुलुक अब आर्थिक समृद्धि, शान्तिको बाटोमा लाग्नेछ भन्ने मलाई विश्वास जागेको छ ।’ नयाँ संविधानमार्फत गैर आवासीय नेपाली नागरिकता दिलाउने सफलता प्राप्त गरेकोमा सन्तोषको अनुभूति भएको र मातृभूमिप्रति थप जिम्मेवारी थपिएको बोध भएको पनि उनले प्रष्ट पारेका छन् । ‘नयाँ संविधान पाएको खुशीसँगै हामीलाई नागरिकताको अर्को उपहार पनि यो संविधानले दिएकोमा सम्पूर्ण एनआरएन समुदायलाई हार्दिक बधाई,’ उनले लेखेका छन् ।
‘यसले हामीलाई नेपालमा लगानी भित्र्याउन र आफ्नो मातृभूमिमा फर्कन थप उत्साहित गर्ने पक्का छ,’ अध्यक्ष घलेले लेखेका छन्, ‘गैर आवासीय नेपालीको लगानीमार्फत मुलुकमा रोजगारीको अवसर सिर्जना भई कलिलो उमेरमा स्कूल र कलेज छाडेर विदेशमा पसिना बगाउन जानुपर्ने बाध्यता पनि यसले कम गर्नेछ ।’
उनले यो संविधानप्रति चित्त बुझाउन नसकेको समुदायलाई आश्वस्त पार्न तीन दलले गरेको कोसिस सह्राहनीय रहेको जनाएका छन् । नेपाली राजनीतिको आगामी दिन सहमति र सहकार्यको वातावरणबाट अगाडी बढ्ने विश्वास आफूले लिएको घलेले प्रष्ट पारेका छन् । स्मरणीय छ, अध्यक्ष घलेले आगामी अक्टोबरमा हुने संघको निर्वाचनमा नयाँ नेतृत्वका लागि उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

Leave A Reply

Your email address will not be published.