यो संविधान कल्पवृष हो: उपसभापति पौडेल

0

काठमाडौं, ४ असोज । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले सबै नेपाली जनताले चाहेको संविधान कल्पवृक्षजस्तै भएको बताउनुभएको छ । संविधानसभाबाट संविधान जारी भएपछि पत्रकारसँग कुराकानी गर्दै उपसभापति पौडेलले भन्नुभयो, “सबै नेपालीका आकाङ्क्षा यो संविधानले पूरा गर्छ । संविधान राष्ट्र उन्नतिको आधारशीला हो । अब नेपाल उठ्छ र अगाडि बढ्छ ।”
सम्पूर्ण नेपाली जनता अधिकारसम्पन्न भएको उल्लेख गर्दै उहाँले देशका सबै जनताले यो संविधानबाट अधिकार प्राप्त गरेकाले आजको दिन नेपाली जनताका लागि महत्वपूर्ण दिन भएको बताउनुभयो । उपसभापति पौडेलले ६५ वर्षदेखिको नेपाली जनताको आकाङ्क्षा पूरा भएको उल्लेख गर्नुभयो ।
उहाँले नेपाली जनताले आफ्ना प्रतिनिधिद्वारा संविधान आफैले बनाएको उल्लेख गर्दै हिजो जारी भएको संविधानले राष्ट्रको उन्नति, सम्पूर्ण जाति तथा जनजाति, दलित, महिला, थारु, मुसलमान सबैको अधिकारको सुरक्षा गरेको दाबी गर्नुभयो । केही नेताले संविधान अपूर्ण भएको भनाइप्रति उपसभापति पौडेलले भन्नुभयो, “पूर्णता भगवानमा पनि छैन । तर यो संविधान जति प्रगतिशील संविधान दक्षिण एसियामा छैन । त्यसो भएकाले यो संविधानले सम्पूर्ण नेपाली जनतालाई अधिकार सम्पन्न गराएको छ ।”
उहाँले संविधानले दिएका अधिकारको रक्षा गर्नुपर्नेमा जोड दिँदै कार्यान्वयन गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । उपसभापति पौडेलले भन्नुभयो, “कसैको असन्तुष्टी तराई, पहाड र हिमालमा रहने जनता मिलेर यस संविधानलाई अझै समृद्ध बनाउनुपर्छ । वार्ता सहमति गरेर भएका कमीलाई पूरा गरेर अगाडि बढ्नु सबैको कर्तव्य हो । अधिकार पाएका छौं अब कर्तव्य पूरा गर्न लाग्नुपर्छ ।

Leave A Reply

Your email address will not be published.