प्रहरी चौकीमा सिलिन्डर बम विस्फोट

0

दाङ, ३ असोज । पूर्वपश्चिम राजमार्गमा पर्ने लमही नगरपालिकाको वडा नं १ नर्तीमा रहेको अस्थायी प्रहरी चौकीमा अज्ञात समूहले गएराति सिलिन्डर बम विस्फोट गराएको छ । वडा प्रहरी कार्यालय लमहीका प्रमुख लक्ष्मण शाहीले दिएको जानकारीअनुसार बम विस्फोटबाट कुनै पनि मानवीय क्षति नभए पनि प्रहरी पोष्ट रहेको घर चर्किएको र स्थानीयवासी शिवा शर्माको घरमा सामान्य क्षति पुगेको छ । सो अस्थायी प्रहरी चौकीमा बसोबास गर्दै आएका सुरक्षाकर्मीहरु भने हाल वडा प्रहरी कार्यालय लमहीमा बस्दै आएका छन् । राति करिब १ बजे बम विस्फोटको ठूलो आवाज सुनिए पनि प्रहरीले आज बिहान अबेरमात्र घटनाको पुष्टि गरेको छ ।
स्थानीयवासीले भने आफूहरु रातभरि त्रसित वातावरणमा बस्नुपरेको बताएका छन् । लमही क्षेत्रमा थरुहट थारुवान सङ्घर्ष समितिले गत साउन २७ गतेदेखि गरेको बन्द हालसम्म पनि कायम नै रहेको छ । यसैबीच बन्दको अवज्ञा गरेको भन्दै लमही गढवा सडक खण्डको बलरामपुरमा गएराति एउटा अनटेस्ट मोटरसाइकल पनि जलाएका छन् ।
मोटरसाइकलमा आगजनी गरेको खबर पाएलगत्तै पुगेको प्रहरीले आगो नियन्त्रणमा लिएपछि मोटरसाइकलमा आंशिक क्षति पुगेको पनि वडा प्रहरी प्रमुख शाहीले जानकारी दिनुभयो । त्यसैगरी राजमार्गमा गुडिरहेको बसमा आज ढुङ्गा प्रहार गरेको अभियोगमा दाङमा प्रहरीले दुईजनालाई पक्राउ गरी नियन्त्रणमा लिएको जनाएको छ ।

Leave A Reply

Your email address will not be published.