समानुपातिक सांसदको सूची सार्वजनिक गर्दै आयोग

0

काठमाडौं : प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ विजयी उम्मेदवारको सूची आज सार्वजनिक गर्ने तयारीमा निर्वाचन आयोग जुटेको छ ।

दलहरुले बुझाएको प्रतिनिधि सभा सदस्यको सूचीमा समस्या देखिएको छैन । राजनीतिक दलहरूले बुझाएको प्रदेश सभाका समानुपातिक सदस्यको सूची सच्याउने समय आज अपरान्ह चार बजेसम्मका लागि दिइएको छ ।

प्रदेश सभामा रहेको क्षेत्रगत ‘क्लस्टर’को त्रुटी सुधारका लागि सम्बन्धित राजनीतिक दललाई आयोगले पत्र पठाइसकेको छ ।

आयोगका अनुसार प्रदेश एक, मधेश प्रदेश, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा प्रदेशतर्फको सूचीमा समस्या देखिएको छ ।

मधेशमा चारवटा दलको चारथरी समस्या देखिएको छ । गण्डकी प्रदेश र कर्णाली प्रदेशको समानुपातिकको सूचीमा कुनै समस्या देखिएको छैन ।

समानुपातिकको सूची सच्याएर आएपछि निर्वाचन आयोगले निर्वाचित भएको घोषणा गर्ने र प्रमाणपत्र वितरण गर्नेछ ।

समानुपातिक सूची घोषणापछि एक साताभित्र प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाइने आयोगको तयारी छ ।

मंसिर ४ गते सम्पन्न निर्वाचनमा संघीय संसदमा समानुपातिकतर्फ एमालेले ३४ सिट, कांग्रेसले ३२ सिट, माओवादी केन्द्रले १४ सिट, राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले सात सिट, जनता समाजवादी पार्टी र जनमत पार्टीले पाँच/पाँच सिट प्राप्त गरेका थिए ।

Leave A Reply

Your email address will not be published.