देउवालाई चुनौतीः बहुमत जुटाउनु अघि दलको नेता

0

काठमाडौं : निर्वाचन आयोगले दलहरुले पाएको मतको आधारमा समानुपातिक तर्फको सिट संख्या बाँडफाँड गरेको छ । आयोगले तीन प्रतिशतको थ्रेसहोल्ड कटाएका दलहरुलाई समानुपातिक तर्फको ११० सिट बाँडफाँड गरेको छ । थ्रेसहोल्ड कटाउने सात दल मध्ये सवैभन्दा बढी नेकपा एमाले बनेको छ । 

एमालेले ३४, नेपाली कांग्रेसले ३२, नेकपा माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राप्रपाले सात, जनता समाजवादी पार्टीले ५ र जनमत पार्टीले ५ सिट पाएका छन् । यो सँगै, दलहरुको आकारले पूर्णता पाएको छ । अब समानुपातिक सांसदहरुको टुंगो लगाउन बाँकी छ । 

दलीय आकारका आधारमा कांग्रेस ८९, एमाले ७८, माओवादी केन्द्र ३२, राष्ट्रिय स्वतन्त्र पार्टी २०, राप्रपा १४, जसपा १२ र जनमत पार्टी ६ सिटको पार्टी बनेको छ । यो आकारसँगै सरकार बनाउने मुख्य शक्तिहरुको पनि टुंगो लागेको छ । संविधानले एकल बहुमत नआएमा बहुमत जुटाएर संयुक्त सरकारको बाटो खुला गर्छ । अहिले कसैले पनि बहुमत नपाएकाले कांग्रेस र एमाले दुवैलाई सरकार निर्माणको दावी खुला भएको छ । 

दुवै दलले त्यसको गृहकार्य समेत अगाडि बढाएको छ । तर पहिलो दल बनेको कांग्रेसभित्र भने बहुमत जुटाउनु अगाडि दलको नेता चयन पहिलो प्राथमिकतामा पर्ने देखिन्छ । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवालाई दलको नेता छोड्न अरु नेताहरु तयार देखिएका छैनन् । 

विशेषगरी महामन्त्री गगन थापाले बलियो दावी गरेका छन् । महामन्त्री थापाले भावी प्रधानमन्त्रीको उम्मेद्वार भनेरै चुनाव लडेका थिए । जितेपछि पनि प्रधानमन्त्रीको तयारी थालेको बताएका थिए । थापा मात्रै नभएर कांग्रेसभित्र नेता शेखर कोइराला, रामचन्द्र पौडेल, प्रकाशमान सिंहले पनि भावी प्रधानमन्त्रीको आकांक्षा राखेका छन् । 

प्रधानमन्त्रीको उम्मेद्वार बन्न देउवा, थापा, कोइराला, पौडेल र सिंहले पहिलो कांग्रेसभित्रै दलको नेता चयन हुनुपर्नेछ । त्यसपछि मात्रै संसदमा बहुमत जुटाउने कार्य शुरु हुने देखिन्छ । सत्ता गठबन्धन कस्तो बन्छ भन्ने प्रष्ट हुनेछ । जबकी प्रधानमन्त्री देउवाले भने अहिलेकै गठबन्धनका दलहरुको साथ लिएर आफू छैटौंपटक प्रधानमन्त्री बन्न चाहिरहेका छन् । त्यसैअनुसार, छलफल र बैठक राखिरहेका छन् । 

Leave A Reply

Your email address will not be published.