काठमाडौं : आइतबारको चुनावबाट राष्ट्रिय राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भएको छ । ‘घण्टी’ चुनाव चिह्न लिएर चुनावमा होमिएको यो पार्टीले पुराना पार्टीहरुलाई धक्का दिएको अनुमान छ । गत स्थानीय तहको चुनावपछि दलका रुपमा अगाडि बढेको राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रिय राजनीतिमा एउटा शक्तिको रुपमा उदय भएको धेरैको आंकलन छ । बिभिन्न अनइलाइन साइटहरुले गरेको मतदानपछिको मत सर्वेक्षणमा चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा रवि लामिछानेको जित हुने देखाइएको छ । साथसाथै, समानुपातिकमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि रहेको देखाइएको छ ।
नयाँ पार्टीकाले केही गर्छन् कि भन्ने आश राखेर मतदान गर्नेहरु देशभर देखा परेका छन् । प्रत्यक्षतर्फ ललितपुर ३ मा पनि तोसिमा कार्की, काठमाडौं– ६ मा शिशिर खनाल, काठमाडौं– २ मा सोबिता गौतम र चितवन–१ मा हरि ढकाल पनि बलियो प्रतिस्पर्धामा रहेको बिभिन्न मत सर्वेक्षणले देखाएको छ ।
उसैगरी समानुपातिकतर्फ पनि मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रिय दलको रुपमा उदय हुने धेरैको आंकलन छ ।
राष्ट्रिय दलको मान्यता पाउन समानुपातिकतर्फ तीन प्रतिशत मत पाएर प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्नु आवश्यक छ । राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५२ मा राष्ट्रिय दलको मान्यतासम्बन्धी व्यवस्था छ । जहाँ भनिएको छ, ‘प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा तीन प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्षतर्फ) एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता प्राप्त गर्नेछ ।’
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र तत्कालिन राष्ट्रिय जनता पार्टीले मात्र राष्ट्रिय दलको मान्यता पाएका थिए । नेकपा एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादी र जसपा फुटेर बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि राष्ट्रिय दलको रुपमा रहेका छन् । तर, चुनावपछि अबको पाँच वर्ष कुन कुन दल राष्ट्रिय दलको रुपमा रहन्छन् भन्ने क्लियर हुनेछ ।
राष्ट्रिय दलले संसदीय दल गठन गर्न पाउँछ । संसदीय दल सञ्चालनका लागि संघीय संसद सचिवालयले कार्यालय र कर्मचारीको व्यवस्था गरिदिन्छ । पार्टी स्थापनाको छोटो समयमै राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रिय दलका रुपमा स्थापित हुने धेरैको अनुमान छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने स्वमं पनि आफ्नो पार्टीले चितवनबाट घण्टी बजाउन सुरु गरिसकेको बताउँछन् । बेसिक स्कुल कालिका नगरपालिका–२ मा उनले मतदातासामु भने, ‘किला गडिसक्यौं त, कहाँ छोड्छु म अब गर्ने हो, पालो हाम्रै त हो, मैले जित्ने भनेको तपाईहरुले जित्ने हो ।’
आफूले चुनाव जितेपछि पनि चुनाव अगाडि मत माग्न आए जसरी नै घरघरमा आउने लामिछानेको प्रतिवद्धता छ ।