विजुली बेचेर ५ महिनामा १० अर्ब बढी आम्दानी

0

काठमाडौं : नेपालले थप २३.५ मेगावाट जडित क्षमताको सोलुखोला जलविद्युत केन्द्रको विद्युत् भारत निर्यातका लागि अनुमति पाएको छ । 

नेपाल विद्युत प्राधिकरणका अनुसार भारत सरकारको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले गत २५ कात्तिकमा सोलुखोलाबाट उत्पादित विद्युत्  इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्रीका लागि अनुमति दिएको हो ।

प्राधिकरणले अब ८ जलविद्युत् केन्द्रबाट उत्पादित ४०९ मेगावाट विद्युत भारतीय आईएक्सको डे–अहेड बजारमा बिक्रीका लागि अनुमति पाएको छ । 

प्राधिकरणले निजी क्षेत्रले निर्माण गरेका २९.०४ मेगावाटको लिखूखोला ए, २५ मेगावाटको काबेली बी–१,२२ मेगावाटको माईखोला, १४.९ मेगावाटको हेवाखोला ए र १० मेगावाटको तल्लो मोदी–१, ४२ मेगावाटको मिस्त्रीखोला, २४.२ मेगावाटको लिखुखोला ‘ए’, २३.५ मेगावाटको सोलुखोला र २२.१ मेगावाटको चिलिमेको विद्युगृहबाट उत्पादित विद्युत निर्यातको प्रस्ताव स्वीकृतिका लागि भारतको केन्द्रीय विद्युत् प्राधिकरणसमक्ष पेश गरेको थियो । त्यसमध्ये चिलिमे र सोलुखोलाको विद्युत् निर्यातका लागि अनुमति प्राप्त भएको हो ।

यसैबीच, बिजुली निर्यातबाट मुलुकले १० अर्ब ३८ करोड ९६ लाख रुपैयाँ बराबरको आम्दानी गरेको पाइएको छ । 

नेपाल विद्युत प्राधिकरणका अनुसार यस वर्षको पहिलो पाँच महिनामा गरिएको बिजुलीको निर्यातबाटै उल्लेखित आम्दानी भएको हो ।  देशभित्र खपत गरी अतिरिक्त भएको एक अर्ब २६ करोड २५ लाख ३८ हजार युनिट बिजुली नेपाल विद्युत् प्राधिकरणले निर्यात गरेको हो । यो गत कात्तिकसम्मको विवरण हो ।

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् गत १९ जेठदेखि इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने भएकाले यस अवधिमा विद्युत् बिक्रीबाट छ अर्ब ४९ करोड ३५ लाख भारु नेपाल भित्रिएको छ । यसबाट नेपालको विदेशी मुद्रा सञ्चिति र दुई मुलुकबीचको व्यापार घाटालाई कम गर्न योगदान पुगिरहेको छ ।

सुरुमा दुई विद्युत् गृहको ३९ मेगावाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिकरुपमा आईएक्समा बिक्री गरिएको थियो । त्यसपछि गत २७ जेठदेखि दैनिकरुपमा छ वटा जलविद्युत् गृहबाट उत्पादित विद्युत्लाई स्रोत मानी दैनिकरुपमा तीन सय ६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै थियो । गत १८ र ३० कात्तिकबाट क्रमशः चिलिमे र सोलुखोलाको विद्युत् निर्यात सुरु भएसँगै भारततर्फ निर्यात हुने विद्युत्को स्वीकृति क्षमता चार सय नौ मेगावाट पुगेको छ ।

खोलानालामा पानीको बहाव घट्दै गएकाले नदी प्रवाहमा आधारित जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन कम भएसँगै निर्यातको परिमाण पनि क्रमशः घट्दै गएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए। ’उद्योगले अहिले स्वीकृति लोडअनुसार विद्युत् नै लिएका छैनन्, यसले गर्दा देशभित्र औद्योगिक करिडोरमा विद्युत्को माग बढ्न सकिरहेको छैन, अहिलेकै अवस्थामा आन्तरिक खपत धानेर बढी भएको विद्युत् आगामी पुसको पहिलो हप्तासम्म निर्यात गर्न सकिने अनुमान गरिएको छ’, उनले भने ।

आईएक्समा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्लकमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युत्को कारोबार गरिन्छ । त्यसैले हरेक ब्लकको मूल्य फरक–फरक हुने गरेको छ । प्राधिकरणले कात्तिकसम्ममा निर्यात गरेको विद्युत्को औसत दर प्रतियुनिट आठ रुपैयाँ २३ पैसा रहेको छ ।

Leave A Reply

Your email address will not be published.