काठमाडौं : मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि मतपत्र ढुवानी सकिएको छ । निर्वाचन आयोगका अनुसार निर्वाचन क्षेत्रमा मतपत्र पुर्याइएको छ ।
बुधबार राजधानीका विभिन्न निर्वाचन क्षेत्रमा मतपत्र पुर्याएसँगै देशभरका प्रतिनिधिसभातर्फ १६५ तथा प्रदेशसभातर्फ ३३० वटै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी गर्ने कार्य सकिएको हो ।
आयोगले तय गरेको कार्यतालिका भन्दा अगावै मतपत्र छपाइ तथा ढुवानी सम्पन्न भएको आयोगले जनाएको छ ।
अस्थायी मतदान केन्द्र तोकियो
प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्ने अस्थायी मतदाताहरूका लागि अस्थायी मतदान केन्द्र तोकिएको छ ।
आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने मतदान प्रक्रियाका लागि अन्तिम अस्थायी मतदाता नामावलीमा नाम समावेश भएका तर मतदान केन्द्रमा नखटिने कर्मचारी र सुरक्षाकर्मी, वृद्धाश्रममा रहेका व्यक्ति, निर्वाचन कसुरमा सजायँ पाएका बाहेकका कारागारमा रहेका कैदी र बन्दी लगायतका व्यक्तिहरूले प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्न पाउनेछन् ।
यही प्रयोजनाका लागि आयोगले ७७ जिल्लाका लागि १४१ वटा अस्थायी मतदान केन्द्र स्वीकृत गरेको छ । २०७२ सालमा जारी भएको नेपालको संविधानपछि अस्थायी मतदाताले मतदान गर्ने व्यवस्था पहिलो पटक कार्यान्वयनमा आएको हो ।
मतदान केन्द्रमा खटिने कर्मचारी र सुरक्षाकर्मीहरूलाई खटिएकै केन्द्रबाट मतदान गर्ने गरी आयोगले व्यवस्था मिलाएको छ । अस्थायी मतदाता हुनको लागि अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्ने कानूनी व्यवस्था भएकोले आयोगले सोही बमोजिमको व्यवस्था मिलाई मतदानको सुनिश्चितता गरेको छ ।
निर्वाचन आयोगले मतदान केन्द्रलाई समावेशी तथा अपाङ्गमैत्री बनाउन पनि निर्देश गरेको छ ।
मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, मतदान अधिकृत तथा निर्वाचनमा खटिने सबै कर्मचारीलाई निर्देश गर्दै निर्वाचनलाई समावेशी तथा अपाङ्गमैत्री बनाउन तथा आयोगका निर्देशनहरूको पूर्ण रूपमा कार्यान्वयन गर्न÷गराउन भनिएको हो ।
निर्वाचन आयोगले जारी गरेको ‘निर्वाचन व्यवस्थापनमा लैङ्गिक तथा समावेशी नीति, २०७७’ प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन (मतदान) निर्देशिका, २०७९, लगायतका निर्वाचन सम्बन्धी कानुनमा लैङ्गिक तथा समावेशी सिद्धान्तलाई विशेष जोड दिएको तथा सो सम्बन्धी व्यवस्थाहरूको कार्यान्वयनमा प्रतिवद्ध रहेको आयोगले जनाएको छ ।