चुनावमा खटिए २ लाख ४७ हजार कर्मचारी

0

काठमाडौं : ४ मंसिरको प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको चुनावमा करिब दुई लाख ४७ हजार कर्मचारी खटिने भएका छन् ।

निर्वाचन आयोगले आसन्न निर्वाचनका लागि झण्डै दुई लाख ४७ हजार कर्मचारी खटाउने भएको हो । आयोगले केन्द्रीय कार्यालय, सात प्रदेश कार्यालय, ७७ जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन र निर्वाचन अधिकृतको कार्यालय, मतदान केन्द्र र मतगणना कार्य समेतका लागि सुरक्षा निकायबाहेक दुई लाख ४७ हजार कर्मचारी खटाउने भएको हो ।

आयोगका उपसचिव कमल ज्ञवालीका अनुसार आयोगको जनशक्ति व्यवस्थापन निर्देशिकाले व्यवस्था गरेबमोजिम देशभर मुख्य निर्वाचन अधिकृतको कार्यालयले कर्मचारी नियुक्ति गरिसकेको र अहिले तालिमहरू सञ्चालन भइरहेको छ । 

जनशक्ति व्यवस्थापन निर्देशिकाअनुसार जिल्लामा प्रमुख जिल्ला अधिकारी संयोजकत्वमा गठित समितिहरूले निजामती सेवा र सार्वजनिक निकायमा काम गर्ने कर्मचारीलाई पदीय हिसावले विवरण लिएर मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई सिफारिस गरेका थिए । सिफारिस भएका कर्मचारीलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले नियुक्त गरिसकेको छ ।

उपसचिव ज्ञवाली भन्छन्, ‘देशभर निर्वाचनका लागि आवश्यक जनशक्ति नियुक्त भइसके, अहिले तालिम सञ्चालन भइरहेको छ । कर्मचारीहरू मतदानको तीन दिन अगाडि नै मतदानस्थलमा पुगिसक्नुपर्ने हुन्छ । त्यसअनुसार अब दुई दिनपछि कर्मचारीहरू मतदान केन्द्रतर्फ खटिनेछन् ।’ 

मर्यादा नपाएको शिक्षकको गूनासो 

चुनावमा खटिएका शिक्षकहरुले निजामतीसरह मर्यादा नपाएको गूनासो गरेका छन् । मतदान अधिकृत, सहायक मतदान अधिकृत र सहायक कर्मचारी छनोटका क्रममा शिक्षकहरुलाई उचित मर्यादा नदिएको शिक्षक महासंघको भनाइ छ ।

निर्वाचन आयोगले २६ साउनमा स्वीकृत गरेको निर्वाचन (जनशक्ति व्यवस्थापन) निर्देशिका, २०७९ को दफा ११ (२) कर्मचारी परिचालन नभएको महासंघले बताएको छ ।

मतदान अधिकृतको रुपमा माध्यमिक, उच्च माध्यमिक, निमावि प्रथम, द्धितीय र प्रावि प्रथम शिक्षक र शाखा अधिकृत मात्रै हुनुपर्ने, सहायक मतदान अधिकृतमा निमावि तृतीय, प्रावि द्धितीय, प्रावि प्रथम र शाखा अधिकृत मात्र हुनुपर्ने, सहायक कर्मचारीको रुपमा प्रावि तृतीय, बाल विकास शिक्षक, विद्यालय कर्मचारी (सह लेखापाल) मात्र रहनुपर्ने गरी सच्याउन शिक्षक महासंघले माग गरेको छ ।

सेवामा नरहेका शिक्षक कर्मचारीलाई समेत खटाइएको तर बहालवाला वरिष्ठ शिक्षकलाई नखटाएको भन्दै महासंघले आपत्ति समेत जनाएको छ । 

Leave A Reply

Your email address will not be published.