काठमाडौं : ४ मंंसिरमा हुने प्रदेशसभा सदस्य र प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि उम्मेदवारहरु तय भएर प्रचारप्रयासमा ब्यस्त छन् । मतदानका लागि केही दिन बाँकी छ । यही बेला बेला दल अदलबदल बाक्लिएको छ ।
सोमबार मात्रै नेकपा एकीकृत समाजवादी जुम्ला जिल्ला कमिटी नेकपा एमालेमा विलय भयो । पार्टीको सिंगो कमिटी नै एमालेमा विलय भएपछि एकीकृत समाजवादीका गठबन्धनका तर्फबाट प्रदेशसभा १ बाट प्रदेशसभा सदस्यका उम्मेदवार पदमबहादुर रोकाय एक्लिएका छन् ।
एमाले जुम्ला जिल्ला कमिटी अध्यक्ष शान्तिलाल महत र एकीकृत समाजवादी जिल्ला अध्यक्ष आदीप्रसाद न्यौपानेले सात बुँदे संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै समाजवादी पार्टी एमालेमा समाहित भएको घोषणा गरेका हुन् । न्यौपानेको प्रवेशले तीन हजार बढी मत एमालेमा बढ्ने एमाले जुम्ला इन्चार्ज रतननाथ योगीको दाबी छ ।
केही दिन अगाडि नेकपा एकीकृत समाजवादीका वागमती प्रदेश कमिटी सदस्य रमेश पौडेल र मीरा पौडेलसहित जिल्लास्तरीय केही कार्यकर्ता एमालेमा प्रवेश गरे । चुनावी अभियान चलिरहेकै बेला कात्तिक १७ गते आयोजित चुनावी कार्यक्रममै उनीहरू गठबन्धनको विपक्षमा एमालेका प्रतिनिधिसभा उम्मेदवार गोकुल बास्कोटा र प्रदेशसभा उम्मेदवार कुमार खकुरेललाई समर्थन गर्दै नेकपा एस परित्याग गरेका हुन् । उनीहरूसँगै राजेन्द्र पौडेल, अविचल पौडेल, गंगा श्रेष्ठ, रामदास सुवाललगायत पनि एमाले प्रवेश गरेको जिल्ला अध्यक्ष अशोक ब्यान्जुले बताए । उनीहरू सबै पनौती नगरपालिका वडा नम्बर ४ र ७ का हुन् ।
शिक्षक आन्दोलनबाट स्थापित नेता पौडेलले आफूहरू विगतमा एमाले छाडेर नेकपा एसतिर लागेपनि अहिलेको परिस्थितिमा एमाले पराजित हुँदा कम्युनिष्ट आन्दोलन कमजोर हुने देखेर पार्टीमा विनाशर्त फर्किएको बताए ।
कात्तिक १८ गते राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट गोरखा क्षेत्र नम्बर २ प्रदेश १ का उम्मेदवार सुबोध बस्नेत नै माओवादी केन्द्र प्रवेश गरे । गोरखा क्षेत्र नम्बर २ अन्तरगत गोरखा नगरपालिका १२ मा आयोजित लोकतान्त्रीक बाम गठबन्धनको चुनावी कार्यक्रममै बस्नेतले माओवादी केन्द्र प्रवेशको घोषणा गरे । ‘गोरखामा देशकै ठुलो लिडर आउनुभएको छ, मेरो उम्मेदवारी निस्क्रीय पार्दै उहाँलाई समर्थन गर्ने निर्णय गरेको छ’ बस्नेतले भने ।
कात्तिक १९ गते नेकपा एमालेका जीतपुरसिमरा उपमहानगरपालिका कमिटिका उपाध्यक्ष बिरेन्द्र गिरिसहित करिब तीन सय एमालेका नेता/कार्यकर्ता नेकपा एकीकृत समाजवादीमा प्रवेश गरे । १९ गते नै बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ४ चैनपुर विर्ताका नेकपा एमालेका नेता कन्हाई राउत कुर्मी लोसपामा प्रवेश गरे ।
सोमबार नै लुम्बिनी प्रदेशकी पूर्वमन्त्री कल्पना पाण्डेले लोकतान्त्रिक समाजवादी पार्टी लोसपा पार्टी परित्याग गरिन् । भैरहवामा पत्रकार सम्मेलन गरेर लोसपा पार्टी परित्याग गरी रुपन्देही क्षेत्र नम्बर ३ का उम्मेदवार दीपक बोहरालाई समर्थन गर्ने उद्घोष गरिन् । लुम्बिनी प्रदेश सरकारकी पूर्व उद्योग, वन तथा वातावरण मन्त्रीसमेत रहेकी पाण्डेले मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधि सभामा बोहरा, जसपाका नेता तथा प्रदेश सभा क का उम्मेदवार महेन्द्र यादव र नेकपा एमालेका नेता तथा प्रदेशसभा ख का उम्मेदवार तुल्सि चौधरीलाई समर्थन गर्ने उनले बताइन् ।
चुनावी प्रचारमै दल अदलबदल हुनुलाई उम्मेदवार नबनाएको तुष, पार्टी छोडेर आएकालाई बी अवसर भएको जस्ता तर्क कतिपयको छ ।