काठमाडौं : श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यको पूजाआराधना गरी अर्घ दिइँदैछ ।
छठ पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन ब्रतालुहरुले कठोर निराहार व्रत बसी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिने गर्दछन् ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजा गरिने यो पर्वमा व्रत बसे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ ।
यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता छ ।
आजका दिन विधिपूर्वक सूर्यको पूजा आरधना गरी अर्घ दिएमा चर्म रोग नलाग्ने धार्मिक विश्वास रहेको छ । कार्तिक शुक्ल षष्ठीका दिन रातभर जागा बसी सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ दिएपछि छठ पर्व समापन हुने गर्दछ ।
केही वर्ष अघिसम्म तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रिय स्वरुप ग्रहण गरेको छ । छठ पूजाका अवसरमा राजधानी काठमाडौका गुह्येश्वरी, कमलपोखरी, वागमती, नख्खु र विष्णुमती लगायतका नदि किनारा सजाइएको छ ।