भारतीय मूलका ऋषि सुनक बेलायतको प्रधानमंत्री नियुक्त

0

लन्डन – सत्तारुढ कन्जरभेटिभ पार्टीको नेता चुनिएको एक दिन पछि ऋषि सुनक बेलायतको प्रधानमन्त्री नियुक्त भएका छन्।

गएको २०० वर्ष यता ब्रिटेनको इतिहासमै सबैभन्दा कम उमेरको प्रधानमंत्री नियुक्त भएका सुनक हिन्दु धर्मवलम्वी हुन्।  अनि, बेलायतको प्रधानमन्त्री बन्ने भारतीय मूलको पहिलो गैर-श्वेत व्यक्ति पनि।

प्रधानमन्त्री लिज ट्रससँग पराजित भएको दुई महिनामै कन्जरभेटिभ पार्टीका तर्फबाट उनी प्रधानमन्त्री नियुक्त भएका हुन्।

गत बिहीबार उनले राजीनामा दिएपछि ऋषि सुनक, पूर्वप्रधानमन्त्री बोरिस जोनसन तथा पूर्व रक्षा मंत्री पेनी मर्डन्ट नयाँ प्रधानमन्त्रीको दौडमा थिए। तर पछि जोनसन तथा  मर्डन्ट दुवै कन्जरभेटिभ पार्टीको नेतृत्व दौडबाट बाहिरिएका थिए।

मंगलबार बिहान ४२ वर्षीय सुनकले बकिङ्घम राजदरबारमा राजा चार्ल्स तृतीयलाई भेट गरेका थिए। उक्त भेटमा राजा चार्ल्स तृतीयले उनलाई नयाँ सरकार गठन गर्न आमन्त्रण गरेको बीबीसीले जनाएको छ।

ब्रिटेनले दुइ अंकको मूल्य वृद्धि, इन्धनको मूल्य वृद्धि, पौण्डको भाउमा गिरावट लगायतका समस्या व्यहोरी रहेको बेला सुनक प्रधानमंत्री पदमा नियुक्त भएका हुन्। 

को हुन् ऋषि सुनक?

सत्तारुढ कन्जरभेटिभ पार्टीको सांसद निर्वाचित भएको सात वर्षमै ब्रिटेनको प्रधानमंत्री नियुक्त  ऋषि सुनक कोरोनाभाइरस महामारीका बेला ब्रिटिश अर्थमंत्री थिए।  फेब्रुअरी २०२० मा अर्थमन्त्री बनेको  केही सातामै उनले  महामारी र लकडाउनका चुनौतीहरू व्यहोर्नु प-यो।

उनले महामारीमा आम सर्वसाधारण तथा व्यवसायीहरुलाई सघाउन ३५० अर्ब स्टर्लिङ पाउन्ड बराबरको सहायता कार्यक्रम सार्वजनिक गरे। त्यसले उनको व्यक्तिगत लोकप्रियता निक्कै बढ्न पुग्यो ।

सुनकका बाबुआमा दुवै पूर्वी अफ्रिकाबाट यूके आएका हुन् र दुवै भारतीय मूलका हुन्।

जनरल फिजिसिअन बुवा र औषधि पसल सञ्चालन गर्ने आमाका सन्तानका रूपमा उनी सन् १९८० मा साउथह्याम्पटनमा जन्मिएका हुन्।

उनले विन्चेस्टर कलेज र पछि अक्सफोर्ड विश्वविद्यालयमा दर्शन, राजनीतिशास्त्र र अर्थशास्त्र पढेका थिए । 

अमेरिकास्थित स्ट्यान्डफर्ड यूनिभर्सिटीमा एमबीए पढ्दा उनको  अक्षता मूर्तिसंग  भेट भयो  जो चर्चित भारतीय प्रविधि कम्पनी इन्फोशिसका सह-संस्थापक नारायण मूर्तिकी छोरी हुन्। उनीहरुको सन् २००९ मा विहे भयो, उनीहरुका दुई छोरीहरू छन्। 

सन् २००१ देखि २००४ सम्म सुनकले गोल्डम्यान स्याक्स ब्याङ्कमा विश्लेषकका रूपमा काम गरे। उनी ब्रिटेनका सबै भन्दा  धनी सांसदहरुमध्ये एक हुन् ।

टरिजा मेको सरकारमा उनी कनिष्ठ मन्त्री बनेका थिए।

बोरिस जोनसनले उनलाई अर्थ मन्त्रालयमा दोस्रो वरियतामा रहने चीफ सेक्रेटरी टू द ट्रेजरीमा नियुक्त गरे।

र अन्तत: फेब्रुअरी २०२० मा उनलाई चान्सलर अफ दि एक्सचेकर (अर्थमन्त्री) मा पदोन्नति गरियो।

गत जुलाई २०२२ मा तत्कालिन प्रधानमंत्री बोरिस जोनसनका नीतिहरुसंग असहमति जनाउँ दै उनले अर्थमंत्रीको पदबाट राजीनामा दिएका थिए।

(फोटो साभार: पीए मिडिया)

Leave A Reply

Your email address will not be published.