पोखरा : नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको १०० मिटर महिला हर्डल्समा त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले स्वर्ण पदक जितेकी छन् ।
उनले निर्धारित दुरी १५.६९ सेकेन्डमा पूरा गर्दै स्वर्ण हात पारिन् ।आर्मीकै निर्मला थापाले १६.२५ सेकेन्डको समय निकाल्दै रजत तथा एपिएफकी भगिरती कुमारी थारुले १९.१३ सेकेन्डको समय निकाल्दै कास्य हात पारे ।
पोखरा रंगशालामा सोमबार भएको खेलमा जयरानीले हिट चरणमा भने १५.१६ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । उनले आफ्नै नाममा रहेको १५.२० सेकेन्डको कीर्तिमान सुधार गरेकी हुन् ।
जयरानीले आइतबार ४०० मिटरमा पनि राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी थिइन् । त्यस्तै,११०मिटर पुरुष हर्डल्समा त्रिभुवन आर्मी क्लबकै जीवन चौधरीले स्वर्ण पदक जितेका छन् ।
पोखरा रंगशालामा सोमबार भएको खेलमा जीवनले निर्धारित दुरी १५.०३ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् ।
पुलिसका चन्द्रदेव जोशीले १५.८१ सेकेन्डसहित रजत तथा आर्मीका रामप्रसाद थारुले १६.०० सेकेन्डको समय सहित कास्य जिते ।